तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकको समृद्धि र सुशासनका लागि राज्यका तीन अङ्गबिच एकता अपरिहार्य: सभामुख अर्याल

काठमाडौँ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका तीन प्रमुख अङ्गबिच कार्यगत एकता र गतिशीलता अपरिहार्य रहेको बताउनुभएको छ । 

६८औँ संसद् दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख अर्यालले देश निर्माणको हुटहुटी र देशलाई द्रुत गतिमा समृद्ध बनाउने चाहना पुरा गर्न कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति र भावना एकआपसमा मिल्नुपर्ने बताउनुभयो ।  

सभामुख अर्यालले कानुनी राज्यमा कहीँ कतै अप्ठ्यारो नपर्ने गरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा दुई मत नरहेको भन्दै संविधानको अक्षरशः पालना र कानुनी राज्यको अवधारणालाई कुनै पनि हालतमा कमजोर बनाउन नहुने बताउनुभयो ।

सभामुख अर्यालले वैदेशिक रोजगारीको सिलसिलामा विश्वभर छरिएका नेपालीलाई स्वदेश फर्कन प्रेरित गर्ने वातावरण बनाउन सबै पक्ष सक्रिय हुनुपर्ने र देशलाई साँच्चिकै बस्नलायक र समृद्धिको अनुभूति गराउन नागरिक समाज र सरोकारवालाहरूले निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button