तपाईँ सुन्दै हुनुहुन्छः

मधेशका विभिन्न स्थानमा धान रोपाई महोत्सव सम्पन्न, उपसभामुख पनि सहभागी

जनकपुरधाम । “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” मूल नारा राष्ट्रिय धान दिवस मधेश प्रदेशका जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

राष्ट्रिय धान दिवसको अवसरमा जनकपुरधामको वडा नंं १४ मुजेलीयामा रहेको आफ्नै बटैया अर्थात् अधियाको खेतमा उपसभामुख रुवी कुमारी ठाकुर पनि किसानहरूसँग रोपाइँमा सहभागी हुनुभयो । 

त्यस अवसरमा उहाँले खाद्य सुरक्षा तथा खाद्य उत्पादनमा किसानको ठूलो भूमिका भए पनि समयमा रासायनिक मल, उन्नत बीउ, पर्याप्त सिँचाइ, उचित बजार एवं मूल्य नपाउनु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले कृषि क्षेत्रको आधुनिकीकरण तथा किसानहरूको जीवन स्तर माथि उकास्ने गरि कार्यक्रम तथा नीति निर्माणका लागि आफूले निरन्तर रुपमा आवाज उठाइरहने पनि बताउनुभयो ।

यसैगरि धनुषाको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथ बनिनियमा २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाइएको छ । त्यहाँ धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेल तथा सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनुहुन्थ्यो । 

जनकपुरधाम उपमहानगरपालिकाले पनि राष्ट्रिय धान दिवस मनाएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहको अगुवाइमा जनकपुरधाममा धान रोपाइ गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button