तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा १३.५ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ सम्पन्न

नेपालगञ्ज। बाँके जिल्लामा असारको मध्यसम्म आइपुग्दा धान रोपाइँको प्रगति अपेक्षाकृत न्यून देखिएको छ ।

कृषि ज्ञान केन्द्र बाँकेका अनुसार हालसम्म जिल्लाभर कुल खेतीयोग्य धान क्षेत्रफलको १३.५ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ सम्पन्न भएको छ ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेका अनुसार जिल्लामा हरेक वर्ष करिब ३६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । तर, यस वर्ष पर्याप्त वर्षा नहुँदा अधिकांश किसानले रोपाइँ सुरु गर्न सकेका छैनन् । हालसम्म राप्तीसोनारी, बैजनाथ र खजुरा गाउँपालिकाका सिँचाइ सुविधा उपलब्ध भएका क्षेत्रमा मात्र उल्लेख्य रूपमा रोपाइँ भएको छ ।

विशेषगरी सिक्टा सिँचाइ आयोजनाको पानी पुगेका क्षेत्रमा किसानले धान रोपाइँ गरिरहेका छन् । केही स्थानमा खेत तयारीको अन्तिम चरणमा पुगेको भए पनि आकाशे पानीको भरमा खेती गर्ने अधिकांश क्षेत्र अझै रोपाइँका लागि तयार हुन सकेका छैनन् । लामो समयसम्म पर्याप्त वर्षा नहुँदा खेतमा चिस्यान अभाव भएको र किसानहरू पानीको प्रतीक्षामा बस्न बाध्य भएका थिए ।

यद्यपि, सोमबार बिहान बाँकेका विभिन्न स्थानमा राम्रो वर्षा भएपछि किसानमा आशा पलाएको छ । वर्षाले खेतमा आवश्यक चिस्यान पुगेकाले अब रोपाइँको कामले गति लिने कृषि प्राविधिकहरूको अपेक्षा छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button