प्रतापपुरमा २० युनिटसम्मको विद्युत र सिँचाइ महसुल निःशुल्क
नवलपरासी पश्चिम। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ देखि पालिकाभित्रका घरधुरीलाई मासिक २० युनिटसम्मको घरेलु विद्युत महसुल निःशुल्क गर्ने भएको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त व्यवस्था समेट्दै आवश्यक बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिनुभयो। उहाँका अनुसार बढ्दो महँगीका बीच नागरिकलाई राहत दिने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो।
गाउँपालिकाले कृषि उत्पादन लागत घटाउन विद्युतीय सिँचाइलाई पनि प्राथमिकता दिएको छ। कृषि प्रयोजनका विद्युत मिटरको सम्पूर्ण विद्युत महसुल पालिकाले नै व्यहोर्ने व्यवस्था निरन्तर रहने अध्यक्ष यादवले बताउनुभयो। यसबाट डिजेल तथा अन्य इन्धनको बढ्दो मूल्यका कारण किसानमा परेको आर्थिक भार कम हुने अपेक्षा गरिएको छ।
पालिकाले विपन्न परिवार र कृषकलाई लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ। साथै, बालविवाह न्यूनीकरण र कानुनी उमेर पुगेपछि विवाह गर्न प्रोत्साहन गर्ने उद्देश्यले उमेर पुगेपछि विवाह गर्ने चेलीलाई २१ हजार रुपैयाँ प्रोत्साहन रकम दिने कार्यक्रमलाई पनि निरन्तरता दिएको छ।
गाउँपालिकाले यी कार्यक्रमबाट नागरिकलाई आर्थिक राहत पुग्नुका साथै कृषि उत्पादन वृद्धि र विद्युतीय सिँचाइको विस्तारमा टेवा पुग्ने विश्वास लिएको छ।








प्रतिक्रिया राख्नुहोस्