तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपाको बन्दसत्र दुई बजे: यस्तो छ कार्यतालिका

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी– रास्वपाको चितवनको भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज २ बजेदेखि सुरु हुने भएको छ ।

बन्दसत्रमा विभिन्न प्रतिवेदनहरू प्रस्तुत गरिने र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउने गरी कार्यतालिका तय भएको छ । 

करिब तीन हजार महाधिवेशन प्रतिनिधिको संख्या हुने आकलन गरिएकोमा बढेर ४२ सयभन्दा बढी प्रतिनिधि संख्या पुगेको र प्राविधिक त्रुटिका कारण हिजोको कार्यतालिका प्रभावित भएको रास्वपाले जनाएको छ ।  

सोमबार बिहान ८ः३० बजे सुरु हुने तय भएको बन्दसत्र प्रतिनिधि छनोट कार्य नटुङ्गिँदा साँझ ६ बजे स्थगित भएको घोषणा गरिएको थियो । 

आज बिहान १० बजेदेखि प्रतिनिधि कार्ड दर्ता र वितरणको कार्य भइरहेको र दुई बजे पार्टी सभापति रवि लामिछानेले बन्दसत्रको औपचारिक आरम्भ गर्ने कार्यक्रम तय भएको छ ।

बन्दसत्र सुरु भएलगत्तै विभिन्न निकायका प्रतिवेदनहरूमाथि छलफल हुनेगरी कार्यतालिका सार्वजनिक गरिएको छ । 

जस अन्तर्गत अनुशासन आयोगको प्रतिवेदन रमाकान्त रिमालले र त्यसपछि पार्टीको वित्तीय प्रतिवेदन कोषाध्यक्ष लिमा अधिकारीले प्रस्तुत गर्ने र छलफल हुने कार्यसूची छ । त्यसैगरी, पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुने छ ।

पार्टी केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्तावलाई सहमहामन्त्री विपिन कुमार आचार्यले प्रस्तुत गर्ने र त्यसलाई अनुमोदन गर्ने तथा पार्टीको भावी दिशा निर्देश गर्ने अर्थ–राजनीतिक प्रस्तावना उपसभापति डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने कार्यसूची छ । 

यस्तै, सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नुहुने र प्रतिवेदनमाथि छलफल र प्रस्तुतीकरणको समय तोकिएको छ ।

बन्दसत्रको अन्तिम चरणमा सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा एवं आयोजक समितिले निर्वाचनको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यसूची छ ।

त्यसपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया सम्बन्धी जानकारी र विस्तृत समयतालिका प्रकाशन गर्नेछ र त्यसपछि नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्ने रास्वपाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button