तपाईँ सुन्दै हुनुहुन्छः

महेन्द्रनगरबाट बाजुरा आउँदै गरेको बस दुर्घटना, २३ यात्रु घाइते

बाजुरा । महेन्द्रनगरबाट बाजुरा आउँदै गरेको यात्रुवाहक बस आज बिहान बाजुराको बुढीगंगा नगरपालिका–१० स्थित रिठाबजार नजिक दुर्घटनामा पर्दा २३ जना यात्रु घाइते भएका छन्।

पवनदूत यातायातको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३५५ नम्बरको बस सडक छेउको भित्तामा ठोक्किएर दुर्घटनामा परेको स्थानीय तपेश रावलले जानकारी दिनुभयो।

प्रहरीका अनुसार बसको ब्रेक फेल भएपछि चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि दुर्घटनाको वास्तविक कारणबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको छ।

दुर्घटनापछि स्थानीयवासी, प्रहरी तथा सम्बन्धित निकायको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो। घाइतेहरूलाई अवस्थाअनुसार नजिकका स्वास्थ्य संस्था, जिल्ला अस्पताल बाजुरा तथा अछामस्थित बयलपाटा अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख शैलेश्वरी बोहराले बताउनुभयो।

प्रहरीले घटनास्थलमा पुगेर दुर्घटनाबारे थप विवरण संकलन गर्नुका साथै घाइतेहरूको अवस्थाबारे जानकारी लिने कार्य जारी राखेको जनाएको छ। दुर्घटनामा घाइते भएका यात्रुहरूको नामावली र स्वास्थ्य अवस्थासम्बन्धी विस्तृत विवरण आउन बाँकी छ।

यस घटनाले पहाडी क्षेत्रमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको प्राविधिक अवस्था तथा नियमित मर्मतसम्भारप्रति पुनः प्रश्न उठाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button