मधेश प्रदेशका जिल्लामा स्वर्णविन्दु थोपा खुवाउने अभियान सुरु
जनकपुरधाम। मधेश प्रदेशका सभामुख रामआशिष यादवले आज जनकपुरधाममा आयुर्वेदको स्वर्णविन्दु थोपा खुवाउने अभियानको शुभारम्भ गर्नुभएको छ ।
प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय जनकपुरधामको आयोजनामा सुरु भएको अभियानको उद्घाटन गर्दै सभामुख यादवले स्वच्छ, स्वस्थ र समृद्ध प्रदेश निर्माणका लागि यस्तो अभियान महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले पछिल्लो समय नसर्ने रोगको प्रकोप बढ्दै गएको उल्लेख गर्दै आयुर्वेदिक औषधिको नियमित प्रयोगले विभिन्न रोगको रोकथाम तथा व्यवस्थापनमा योगदान पुग्ने बताउनुभयो । मधेश प्रदेशलाई आयुर्वेद तथा वैकल्पिक उपचारको केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता पनि उहाँले औंल्याउनुभयो ।
सभामुख यादवले एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई खुवाइने स्वर्णविन्दु थोपाले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
आयुर्वेद विभागका निवर्तमान महानिर्देशक डा. श्यामबाबु यादवले धनुषासहित मधेश प्रदेशका आठ जिल्लासँगै देशका ४१ जिल्लामा स्वर्णविन्दु कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार आगामी आर्थिक वर्षदेखि यो कार्यक्रम ७७ वटै जिल्लामा विस्तार गर्ने तयारी गरिएको छ ।
आयुर्वेद विभागका अनुसन्धान महाशाखा प्रमुख डा. पुनेश्वर केसरीले स्वर्णविन्दुले बालबालिकाको प्रतिरोधात्मक क्षमता तथा मानसिक विकासमा सहयोग पुग्ने विषय अनुसन्धानबाट पुष्टि भएको दाबी गर्दै अभिभावकलाई निर्धक्क भएर बालबालिकालाई यो थोपा खुवाउन आग्रह गर्नुभयो ।
प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय जनकपुरधामका प्रमुख डा. महारुद्र ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य निर्देशनालयका प्रतिनिधि रामविनय साह तथा वडा नं. १३ का वडाध्यक्ष पूर्णप्रसाद यादवले पनि स्वर्णविन्दुको महत्वबारे धारणा राख्नुभएको थियो ।
वरिष्ठ आयुर्वेद चिकित्सक डा. ठाकुरका अनुसार एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकाका लागि स्वर्णविन्दु थोपा कार्यक्रम मधेश प्रदेशका जिल्लाहरूमा निरन्तर सञ्चालन गरिनेछ ।



प्रतिक्रिया राख्नुहोस्