नरैनापुर गाउँपालिकाको २०औँ अधिवेशन सम्पन्न, ४९ करोडको बजेट पारित
बाँके। नरैनापुर गाउँपालिकाको २०औँ अधिवेशनले आर्थिक विधेयक तथा विनियोजन विधेयक २०८३ सर्वसम्मत रूपमा पारित गरेको छ । गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहको सभाध्यक्षतामा बिहीबार सम्पन्न गाउँसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेट तथा कार्यक्रमलाई अनुमोदन गर्दै विधेयकहरू पारित गरेको हो ।
गाउँसभामा अध्यक्ष शाहले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष जयन्ती श्रीवास्तवले रु ४९ करोड २ लाख ८३ हजार बराबरको बजेट पेश गर्नुभएको थियो ।
पारित नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास तथा सामाजिक विकासलाई प्राथमिकतामा राखिएको छ । साथै दलित, मुस्लिम, मधेसी, थारु लगायत समुदायको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि लक्षित कार्यक्रम पनि समावेश गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँसभामा वडा नं १ का वडाध्यक्ष इसाक जोलाहा, वडा नं २ का वडाध्यक्ष मसुद अहमद शाह, वडा नं ४ का वडाध्यक्ष मनोज शर्मा, वडा नं ५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्य, वडा नं ६ का वडाध्यक्ष प्रेम मौर्य लगायतले नीति तथा बजेटमाथि धारणा राख्नुभएको थियो ।
आर्थिक विधेयक र विनियोजन विधेयक पारित भएसँगै नरैनापुर गाउँपालिकाको २०औँ अधिवेशन सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले जानकारी दिनुभयो । कार्यक्रममा प्रशासकीय अधिकृत भरत महतोले सञ्चालन गर्नुभएको थियो ।
लेखा अधिकृत प्रकाश अधिकारीका अनुसार नरैनापुर गाउँपालिका जिल्लामै सबैभन्दा पहिले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्ने स्थानीय तह बन्न सफल भएको छ । उहाँले समयमै बजेट पारित हुनु सुशासन, वित्तीय अनुशासन र विकासप्रतिको प्रतिबद्धताको संकेत भएको बताउनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य, विषयगत शाखा प्रमुख, सञ्चारकर्मी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्