रेडियो नेपाल धनकुटा र शिक्षा विकास निर्देशनालयबीच ‘शिक्षा सरोकार’ कार्यक्रम प्रसारण सम्झौता

धनकुटा I सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय धनकुटाबाट शिक्षा सरोकार कार्यक्रम प्रसारण गर्न शिक्षा विकास निर्देशनालय कोशी प्रदेश धनकुटासँग सम्झौता भएको छ।
कोशी प्रदेशमा रहेका सामुदायिक विद्यालयहरूको साख वृद्धि गर्न, शैक्षिक नीतिहरूलाई आम नागरिकसम्म पुर्याउन र सरोकारवालाहरूलाई जिम्मेवार बनाउने कार्यक्रमको उद्देश्य रहेको छ । सम्झौताको क्रममा निर्देशनालयका निर्देशक कृष्ण प्रसाद पोख्रेलले अनिवार्य तथा निशूल्क शिक्षा सम्बन्धि ऐन २०७५ ले व्यवस्था गरे अनुसार २०८५ बैशाख १ गते सम्ममा आधारभूत शिक्षा अनिवार्यतालाई व्यवहारमा लागु गर्न कार्यक्रमले सघाउ पुर्याउने बताउनुभयो ।
प्रदेशका सामुदायिक विद्यालयले गरेका उत्कृष्ट अभ्यासलाई उजागर गर्दै विद्यालय सम्बद्ध सरोकारवालाहरूलाई अझ सक्रिय बनाउन शिक्षा सरोकार कार्यक्रम सफल हुनेमा उहाँले जोड दिनुभयो ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय धनकुटाका प्रमुख तिलविक्रम चेम्जोङले निर्देशनालयको शैक्षिक अभियानमा रेडियो नेपाल धनकुटा जोडिन पाएकोमा निर्देशनालयप्रति आभार व्यक्त गर्दै प्राप्त जिम्मेवारीलाई पूर्ण रुपमा निर्वाह गर्ने बताउनु भयो । शिक्षा सरोकार कार्यक्रममा प्रदेशका उत्कृष्ट माध्यमिक विद्यालयको स्थलगत रिपोर्ट, अन्तर्वार्ता, सम्बद्ध पक्षसँग शैक्षिक बहस जस्ता सामग्री समावेश उहाँले हुने बताउनुभयो ।
हप्तामा आइतबार र बिहीबार दिनको ३.३० बजेदेखि प्रसारण हुने शिक्षा सरोकार कार्यक्रम २५ मिनेट अवधिको हुनेछ।







प्रतिक्रिया राख्नुहोस्