निष्पक्ष छानविन गर्ने शर्तमा पिंकीको शव उठ्यो

महोत्तरी । रहस्यमय मृत्यु घटना प्रकरणलाई निष्पक्ष रूपमै छानविन गर्ने शर्तमा महोत्तरी बर्दिबासकी मृतक पिंकी कुमारीको शव परीक्षणका लागि प्रहरीले उठाएको छ। शनिबार दिउँसो घटनास्थलमै पीडित, स्थानीय भद्र भलादमी जनप्रतिनिधि तथा प्रहरीबीच भएको सहमति अनुसार मृतकको शव पोस्टमार्टमका लागि जनकपुर पठाइएको हो ।
महोत्तरीका प्रहरी प्रवक्ता एवम् डिएसपी पन्चलाल गोलेका अनुसार प्रहरीले मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको हो । प्रहरीले घटनास्थलबाट यसअघि नै मृतकका श्रीमान् शशिकुमार सिंहलाई नियन्त्रणमा लिइसकेको डिएसपी गोलेले बताउनुभयो । प्रहरीले घटनाको सम्बन्धमा सूक्ष्म रुपमा अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
शुक्रबार बेलुकीदेखि अशान्त रहेको विजलपुर गाउँ अहिले पूर्ववत् रुपमा फर्किएको छ । माइती पक्ष घर फर्किएको छ भने प्रहरी अझ घरको सुरक्षामै छ। श्रीमानसँग लामो समयदेखि रहँदै आएको मनमुटावकै कारण पिंकीको हत्या गरिएको माइती पक्षले आरोप लगाएको छ । माइती पक्ष र गाउँलेले घरमा तोडफोड गरेका छन् ।
शुक्रबार राति ८ बजेको समयमा आक्रोशित भीडले घरमा पार्क गरेको कारमा आगो लगाएका थिए । एक मोटरसाइकल र स्कुटरमा तोडफोड गरेका थिए। त्यस्तै घरका सबै सामान निकालेर फालेका थिए । स्थानीयका अनुसार परिवारले महिलालाई यातना दिँदै आएको थियो । घटनालाई लिएर आक्रोशित भिड र प्रहरीबीच झडप समेत भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्