सुनचाँदी चोरी प्रकरणमा पसल सञ्चालक नै संलग्न

रुपन्देही । बुटवलको अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा भएको भनिएको सुनचाँदी चोरी प्रकरणमा पसल सञ्चालक नै संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
रुपन्देही प्रहरीका अनुसार पसल सञ्चालक दीपक विकले बीमा रकम दाबी गर्ने तथा ग्राहकले धितोका रूपमा राखेका सुनका गरगहना फिर्ता दिन नसक्ने अवस्थाबाट बच्न चोरीको नाटक रचेको प्रारम्भिक अनुसन्धानबाट देखिएको हो ।
गत जेठ १७ गते पसलबाट करिब ८० तोला सुन हराएको दाबी गरिएको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले विभिन्न स्थानका सीसीटीभी फुटेज अध्ययन गर्दा सञ्चालक आफैँ राति पसलभित्र प्रवेश गरी सुनका गरगहना बोकेर बाहिरिएको प्रमाण फेला पारेको जनाएको छ ।
प्रहरीले सञ्चालक दीपक विक र कर्मचारी नवीन विकलाई नियन्त्रणमा लिएर आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
हालसम्म ५ तोला ४.१ लाल सुन र १४ किलो ३०० ग्राम चाँदी बरामद भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्