तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीको भनाइ दशगजा अतिक्रमणसँग सम्बन्धित: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिको विषयमा प्रतिनिधि सभामा स्पष्टीकरण दिँदै प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित सम्बन्धित रहेको बताउनुभएको छ । 

सभाको आजको बैठकमा सभामुखसँग समय लिएर परराष्ट्रमन्त्री खनालले सीमा समस्या समाधानका लागि नेपाल इन्डिया बाउन्ड्री वर्किङ ग्रुप र अन्य संयन्त्रले म्यापिङको काम गरिरहेको बताउनुभयो ।

परराष्ट्रमन्त्री खनालले लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्रहरू नेपालको अभिन्न भूभाग रहेको र यस विषयमा सरकारको आधिकारिक धारणा स्पष्ट रहेको बताउनुभयो ।

सीमा सम्बन्धी समस्यालाई कूटनीतिक माध्यम र ऐतिहासिक तथ्य तथा नक्साका आधारमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि भारतसँग निरन्तर संवाद भइरहेको जानकारी गराउनुभयो ।

प्रधानमन्त्री शाहले १८१६ को सुगौली सन्धिको सन्दर्भमा बेलायतको भूमिकाबारे दिएको अभिव्यक्तिका बारेमा मन्त्री खनालले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता खोजेको नभई तत्कालीन समयका थप सन्दर्भ सामग्रीहरूका लागि मात्र तत्कालीन हस्ताक्षरकर्ताको नाम उल्लेख गरिएको प्रस्ट पार्नुभयो ।

सीमा विवाद नेपाल र भारतको द्विपक्षीय विषय भएको र यसलाई आपसी समझदारीमै टुङ्ग्याउनुपर्नेमा सरकार अडिग रहेको भन्दै मन्त्री खनालले समस्याको समाधान कूटनीतिक संवाद र वार्ताको माध्यबाट गरिने बताउनुभयो ।

मन्त्री खनालले दशगजा क्षेत्रको अतिक्रमण र सीमा स्तम्भहरूको व्यवस्थापनका लागि प्राविधिक टोलीहरू सक्रिय रहेको र जोइन्ट फिल्ड सर्भे टिमले विभिन्न स्थानमा काम गरिरहेको बताउनुभयो ।

सीमा क्षेत्रमा रहेका समस्याहरूलाई वैज्ञानिक ढङ्गले समाधान गर्न र दुई देशबिचको सम्बन्धलाई थप सुदृढ बनाउन सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गरिरहेको पनि सदनलाई विश्वास दिलाउनुभयो ।

परराष्ट्रमन्त्री खनालले सदनमा आफ्नो भर्खरै सम्पन्न भारत भ्रमणका विषयमा समेत जानकारी गराउनुभएको थियो ।

प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले सदनमा जवाफ दिइरहँदा प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका सांसदहरुले भने उठेर विरोध कायमै राख्नुभएको थियो ।

बैठकमा नेपाली काँग्रेसमा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपालले भारतको जमिन कहिल्यै नमिचेको भन्दै भारतले नै नेपालको जमिन मिचेको विभिन्न तथ्यले देखाएको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमिन मिचेको भने झैँ गरी बोलेको र आफैँले बोलेको अभिव्यक्तिमा प्रश्न उठे पनि संसदमा नआएका कारण संसद् बन्धक बन्न पुगेको बताउनुु भयो ।

संसदमा सीमा विवादबारे प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिको जवाफ परराष्ट्रमन्त्री शिशिर खनालले दिनेभएपछि आफूहरू सदन सुचारु गरेर अगाडि बढ्न तयार भएको बताउनुभयो । 

कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले परारष्ट्रमन्त्री खनालले जे जस्ता तर्क गरे पनि प्रधानमन्त्री शाहको अभिव्यक्ति कहिल्यै स्वीकार गर्न नसकिने समेत स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button