तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले कर्णाली करिडोर अवरुद्ध

मान्म (कालीकोट) ।  पहिरोले कर्णाली करिडोर अवरुद्ध भएको छ । 

मङ्गलबारदेखि वर्षाका कारण कर्णाली करिडोरअन्तर्गतको कालीकोट खण्डमा पर्ने नरहरिनाथ गाउँपालिका–१ लालीघाटदेखि भौतेकुना, सान्नीत्रिवेणी गाउँपालिका–१ को रेगिल खण्ड र पचालझरना गाउँपालिका–४ को घाटपारी सडकखण्ड अवरुद्ध भएको हो । 

वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो गएका कारणले कर्णाली करिडोरअन्तर्गत कालीकोट सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा तीन सयभन्दा बढी यात्रु बाटोमै अलपत्र परेका प्रहरी नायव उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिनुभयो । वर्षा नरोकिएका कारण पहिरो पन्छाउन उपकरण प्रयोग गर्न नसकिएको उहाँले बताउनुभयो । 

आज बिहानैदेखि डोजरले पहिरो पन्छाउने प्रयास भइरहेको भए पनि झण्डै तीन किलोमिटर सडकमा लेदो बगेकाले पन्छाउन कठिन भएको प्रहरी नायव उपरीक्षक खत्रीले बताउनुभयो । कर्णाली करिडोर हुँदै कालीकोटको रास्कोट, सान्नीत्रिवेणी, पचालझरना, बाजुरा र हुम्लाबाट आएका सवारीसाधन ठाउँ ठाउँमा रोकिएका छन् । बिरामी, परीक्षार्थी र काम विशेषले हिँडेका यात्रु लालीघाट, रेगिंल, सान्नीगाड र खुलालुमा अलपत्र परेका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button