पार्टीलाई पुनर्जीवित गर्न नयाँ सोच र कार्यशैली आवश्यक : नेता पाण्डे

रुपन्देही । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीलाई पुनर्जीवित गर्न नयाँ सोच, कार्यशैली र डिजिटल रूपान्तरण आवश्यक रहेको बताउनुभएको छ ।
प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीको वर्तमान अवस्थालाई चुनौतीपूर्ण रहेको उल्लेख गर्दै व्यापक सङ्गठनात्मक पुनर्संरचना र प्रविधिमैत्री प्रणालीको विकासमा जोड दिनुभयो । बदलिँदो राजनीतिक तथा प्रविधिगत परिवेशअनुसार पार्टी सञ्चालनको शैलीमा आमूल परिवर्तन गर्नुपर्ने उहाँको भनाइ थियो ।
उहाँले पार्टीको खस्किँदो चुनावी नतिजाले नेतृत्व र सङ्गठन दुवैलाई गम्भीर आत्मसमीक्षाको आवश्यकता रहेको बताउनुभयो । विगतमा बलियो संसदीय उपस्थितिसहित रहेको एमाले अहिले अपेक्षाअनुसारको अवस्थामा नरहेको उल्लेख गर्दै पार्टीलाई पुनर्जीवित गर्न नयाँ सोच र कार्यशैली अपरिहार्य रहेको धारणा राख्नुभयो ।
कतिपय निर्वाचन क्षेत्रमा पार्टी सदस्यको सङ्ख्याभन्दा कम मत प्राप्त भएको अवस्था देखिएकाले सदस्यता वितरणदेखि वडादेखि केन्द्रसम्मका कमिटी निर्माण प्रक्रियाको पुनरावलोकन गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । यसले सङ्गठनभित्र रहेका कमजोरी उजागर गरेको उहाँको भनाइ थियो ।
उहाँले अबको युग आर्टिफिसियल इन्टेलिजेन्स (एआई)र डिजिटल प्रविधिको भएको उल्लेख गर्दै एमालेलाई परम्परागत भौतिक संरचनाबाट डिजिटल प्रणालीमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो । पुरानो शैलीका सङ्गठनात्मक गतिविधिले मात्र अबको राजनीतिक प्रतिस्पर्धामा सफलता हासिल गर्न नसकिने भन्दै उहाँले प्रविधिमैत्री पार्टी निर्माणमा जोड दिनुभयो ।
समाज निरन्तर परिवर्तनशील रहेको र त्यसअनुसार पार्टीका विचार, नेतृत्व विकासको शैली तथा सङ्गठनात्मक संस्कृतिमा पनि समयानुकूल सुधार आवश्यक पर्ने उहाँको भनाइ थियो । मदन भण्डारीको समयदेखि अहिलेसम्म विश्व र समाजमा ठूलो परिवर्तन आइसकेकाले पार्टीले पनि आफूलाई बदल्नुपर्ने उहाँले बताउनुभयो ।
वर्तमान अवस्थाबाट यथास्थितिमै पार्टी आन्दोलन अगाडि बढ्न नसक्ने उल्लेख गर्दै उहाँले सङ्गठनात्मक सुधारका लागि अध्ययन तथा सुझाव सङ्कलन गर्न कार्यदलले काम गरिरहेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्