तपाईँ सुन्दै हुनुहुन्छः

रोजगारीको प्रलोभन देखाई ४ सय ५३ जना नेपालीलाई भारत पुर्‍याउने ५ जनाविरुद्ध मुद्दा 

रुपन्देही । गत शनिबार भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट उद्धार गरिएका ४ सय ५३ जना नेपालीहरू ठगीको घटनामा रुपन्देही प्रहरीले पाँच जनाको संलग्नता देखिएको भन्दै कानुनी प्रक्रिया अघि बढाएको छ ।

प्रारम्भिक सोधपुछ तथा अनुसन्धानका क्रममा उनीहरूको संलग्नता देखिएको भन्दै रुपन्देही प्रहरीले ठगी मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको हो । 

उनीहरूमाथि रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त सूचना अधिकृत दिनेश कुँवरले जानकारी दिनुभयो । 

उहाँका अनुसार, डोटी जिल्ला शिखर नगरपालिका बस्ने २३ वर्षीय सिताराम बोहरा, ओखलढुङ्गा चम्पादेवी गाउँपालिकाका ३० वर्षीय अनिल बुढाथोकी, रोल्पा मुड्केचुला गाउँपालिकाका २३ वर्षीय अमनलाल बुढा, डोल्पा ठुलिभेरी नगरपालिका बस्ने २१ वर्षीय दिनेश बुढा र नवलपुर जिल्ला कावासोती नगरपालिका बस्ने ४५ वर्षीय कमल गिरीमाथि ठगीको अभियोगमा कारबाही अघि बढाइएको हो ।

उद्धार गरिएका नेपाली नागरिकले आफूहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाई भारतका विभिन्न स्थानमा पुर्‍याइएको, तर सम्झौताअनुसार काम तथा सुविधा नपाएको गुनासो गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button