तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा वन गस्ती टोलीमाथि अज्ञात समूहद्वारा आक्रमण: पाँच जना घाइते

रौतहट। रौतहटमा वन संरक्षणका लागि गस्तीमा निस्किएको टोलीमाथि अज्ञात समूहले आक्रमण गर्दा पाँच जना घाइते भएका छन् ।

काठ चोरी भइरहेको सूचनाको आधारमा वन क्षेत्रमा पुगेको डिभिजन वन कार्यालय र रंगपुर साझेदारी वनको संयुक्त टोलीमाथि आक्रमण भएको हो । 

घटना सोमबार मध्यराति भएको भए पनि डिभिजन वन कार्यालयले सार्वजनिक नगरेका कारण बाहिरिएको थिएन । आक्रमणमा घाइते भएका पीडितहरू बुधबार सञ्चारकर्मीसँग घटनाबारे जानकारी दिएपछि घटना बाहिरिए हो । 

चन्द्रनिगाहपुर–मैरा सडकखण्डअन्तर्गत पुल नजिक गस्ती गरिरहेका बेला अज्ञात समूहले टोलीलाई घेरा हालेर कुटपिट गरेको जनाइएको छ ।

आक्रमणमा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका सहायक वन अधिकृत राजकुमार चौधरी, वन रक्षक सुरेन्द्र चौधरी, रंगपुर साझेदारी वन उपभोक्ता समितिका सदस्य अर्जुन चौधरी र विमल थापा तथा गस्ती गाडीका चालक अरविन्द पटेल घाइते भएका छन् ।

रंगपुर साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष अशोक यादवका अनुसार वन क्षेत्रमा काठ चोरी भइरहेको सूचनापछि टोली गस्तीमा गएको थियो । सोही क्रममा जङ्गलभित्रै सङ्गठित रूपमा आक्रमण भएको उहाँले बताउनुभयो ।

डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख हेमन्त प्रसाद साहले वन कर्मचारीमाथि आक्रमण भएको पुष्टि गर्दै घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुलिनसकेको बताउनुभयो । उहाँले आक्रमणकारी वन तस्कर नै हुन् भन्ने ठोस प्रमाण हालसम्म प्राप्त नभएको उल्लेख गर्दै दोषीमाथि कारबाहीको मागसहित इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दर्ता गरिएको जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा अनुसन्धान भइरहेको जनाएको छ । हालसम्म कसैलाई पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ ।

घटनापछि वन कर्मचारी तथा रंगपुर साझेदारी वनका पदाधिकारीहरूले आक्रमणमा संलग्न व्यक्तिहरूलाई यथाशीघ्र पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् । वन संरक्षणका क्रममा खटिएका कर्मचारीमाथि भएको आक्रमणले वन सुरक्षासम्बन्धी चुनौती थप उजागर भएको सरोकारवालाहरूको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button