तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको शिक्षा प्रणालीमा चुनौती, दरबन्दी र पूर्वाधार अभाव प्रमुख समस्या

बाँके । जिल्लामा ठूलो संख्यामा बालविकास केन्द्र र विद्यालय सञ्चालनमा रहे पनि शिक्षक दरबन्दी अभाव, सीमित बजेट र कमजोर पूर्वाधारका कारण शिक्षा प्रणाली चुनौतीपूर्ण बनेको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ बाँकेको तथ्यांकअनुसार जिल्लाका आठ स्थानीय तहमा विद्यालयमा आधारित ५०० र समुदायमा आधारित ८४ गरी कुल ५८४ बालविकास केन्द्र सञ्चालनमा छन्। नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी, बैजनाथ, खजुरा, जानकी, डुडुवा र नरैनापुर गाउँपालिकामा बालविकास केन्द्रहरूको उपस्थिति उल्लेखनीय छ ।

जिल्लाभर २५१ आधारभूत तथा माध्यमिक विद्यालय र १३५ धार्मिक विद्यालय सञ्चालनमा छन्। कक्षा १ देखि ५, १ देखि ८, १ देखि १० र १ देखि १२ सम्मका विद्यालय सञ्चालन भइरहेका छन्। विद्यालय संख्या पर्याप्त भए पनि शिक्षक, पूर्वाधार र आर्थिक स्रोत व्यवस्थापनमा चुनौती कायमै रहेको सरोकारवालाहरू बताउँछन् ।

तथ्यांकअनुसार प्राथमिक तहमा ५९० बालविकास शिक्षक कार्यरत छन्। स्थायी प्रथम श्रेणीका १९, द्वितीय श्रेणीका २६६ र तृतीय श्रेणीका ४७७ शिक्षक छन्। यसबाहेक राहत, अस्थायी र स्थानीय तह अनुदानका सयौं शिक्षकले पठनपाठन गराइरहेका छन् ।

निम्न माध्यमिक तहमा पनि राहत, संघीय अनुदान, पालिका अनुदान र स्वयंसेवक शिक्षकहरूको संख्या उल्लेखनीय छ। माध्यमिक तहमा स्थायी दरबन्दी सीमित छ, जसमा प्रथम श्रेणीका ३, द्वितीय श्रेणीका २३ र तृतीय श्रेणीका १२४ शिक्षक मात्रै रहेका छन्। उच्च माध्यमिक तहमा समेत दरबन्दी न्यून हुँदा अधिकांश शैक्षिक गतिविधि अनुदान शिक्षककै भरमा सञ्चालन भइरहेको देखिन्छ ।

शिक्षा क्षेत्रका जानकारहरूका अनुसार गुणस्तरीय शिक्षा सुनिश्चित गर्न पर्याप्त बजेट, शिक्षक दरबन्दी, आधुनिक पूर्वाधार र नियमित सञ्चालन खर्च आवश्यक छ ।

बाँकेका सामुदायिक विद्यालयहरूले सीमित स्रोतसाधनका बाबजुद शिक्षा प्रदान गर्दै आएका छन्। तर दीर्घकालीन सुधारका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय, लगानी वृद्धि र योजनाबद्ध काम आवश्यक रहेको सरोकारवालाहरूको निष्कर्ष छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button