तपाईँ सुन्दै हुनुहुन्छः

भीमनारायण गोल्डकपको उपाधि बेलबारीले जित्यो

धनकुटा । १८ औँ संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बेलबारी फुटबल क्लब मोरङले उचालेको छ । 

धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शनिबार सम्पन्न प्रतियोगितामा आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानलाई ट्राई बेकरमा ५–४ गोलअन्तरले हराउँदै मोरङको बेलबारी फुटबल क्लबले उपाधि चुमेको हो । 

निर्धारित ९० मिनेटको समयमा दुवै टिमबाट गोल नभएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई ब्रेकरमा बेलबारीका विदेशी खेलाडी सोलुमान किंग, शिशिर लेखी, विदेशी खेलाडी मुतियु, विशाल थिङ र श्याम मुरमुरले गोल गरेका थिए भने विवेक पौडेलको प्रहार आयोजकका गोलकिपर विदेशी खेलाडी प्रिसुले रोकेका थिए ।

यस्तै आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानका विवेक गुरुङ, विदेशी खेलाडीहरू फेमी, ओलायामी ताइव र प्रिसोले गोल गरेका थिए भने राम वाजीको प्रहार बेलबारीमा गोलकिपर अजय परियारले रोकेका थिए भने पृथ्वी चौधरीले पोष्ट बाहिर प्रहार गरेका थिए । 

उपाधि विजेता बेलबारी फुटबल क्लबले नगद ६ लाख रुपैयाँ तथा गोल्डकप हात पार्यो । उपविजेता बनेको आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानले नगद ३ लाख रुपैयाँ चित्त बुझायो । 

यसैगरी भीमनारायण गोल्डकपको यो संस्करणको प्लेयर अफ टुर्नामेन्ट आयोजकका पदम भट्टराई घोषित भए । उनले नगद २५ हजार रुपैयाँ हात पारे । 

यस्तै प्रतियोगिताको बेस्ट गोलकिपर बेलबारीका अजय परियार, मिडफिल्डर आयोजक टिमका राम वाजी, बेस्ट डिफेन्डर बेलबारीका महेन्द्र कार्की, वेस्ट कोच बेलबारीका सुमन श्रेष्ठ, सर्वाधिक गोलकर्ता बेलबारीका सोलोमान किंग घोषित भए । उनीहरूले जनही नगद ११ हजार ५ रुपैयाँ पुरस्कार हात पारे । 

प्रतियोगिताको उदयमान खेलाडी आयोजकका प्रतीक थापा मगर घोषित हुँदै ६ हजार ६ सय ६६ रुपैयाँ नगद पुरस्कार हात पारे । यता फाइनल खेलको प्लेयर अफ द म्याच बेलबारीका विवेक पौडेल घोषित भए । उनले नगद छ हजार रुपैयाँ पुरस्कार हात पारे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button