धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको जातीय परीक्षण सुरु

धनकुटा । धनकुटा नगरपालिकाको खाम्बेलामा कोदोका १० विभिन्न जातको कार्यमुखी अनुसन्धान सुरु गरिएको छ। स्थानीय किसान, जनप्रतिनिधि तथा कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा कोदोका जातीय परीक्षण सञ्चालन गरिएको हो।
अनुसन्धानअन्तर्गत पाँच उन्नत जात—ओख्ले, डल्ले, काभ्रे–१, काभ्रे–२ र सैलुङ—को परीक्षण भइरहेको छ। यस्तै, अनुसन्धानकै क्रममा रहेका केएलइ १५८, केएलइ १५९ र केएलइ २३६ तथा धनकुटाका स्थानीय जात लुली र मुड्कीको पनि परीक्षण सुरु गरिएको छ।
यी १० जातलाई वैज्ञानिक विधिअनुसार आरसीबीडी (Randomized Complete Block Design) पद्धतिबाट फरक लाइनमा विभाजन गरी ३० वटा साना क्षेत्रमा रोपण गरिएको छ। विभिन्न जातको उत्पादन क्षमता, स्थानीय हावापानी तथा माटोसँगको अनुकूलता र किसानका लागि उपयोगितालगायत पक्षको तुलनात्मक अध्ययन गर्ने उद्देश्यले परीक्षण सञ्चालन गरिएको हो।

जातीय परीक्षण अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार तथा विकास केन्द्र (सिप्रेड) को आयोजनामा सुरु गरिएको हो। अनुसन्धानमा स्थानीय समुदायसँगै धनकुटा नगरपालिका, कृषि ज्ञान केन्द्र धनकुटा तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेज, पाख्रिबासको सहकार्य रहेको छ।

सिप्रेड नेपालका कार्यक्रम संयोजक टुकनारायण अर्यालले किसानलाई उन्नत जातको कोदो उपलब्ध गराउने उद्देश्यले अनुसन्धान सुरु गरिएको बताउनुभयो। इसिमोडका डा. कमल अर्यालले स्थानीयस्तरमै वैज्ञानिक अनुसन्धान सञ्चालन गरी किसानलाई प्रत्यक्ष सहभागी गराउँदा उपयुक्त जात र प्रविधि छनोट गर्न सहज हुने बताउनुभयो।
किसानको सहभागितामा गरिने यस्तो अनुसन्धानले कोदोको उत्पादन बढाउनुका साथै खाद्य तथा पोषण सुरक्षामा समेत योगदान पुर्याउने अपेक्षा गरिएको उहाँले बताउनुभयो।

जातीय परीक्षणमार्फत स्थानीय किसानले नयाँ तथा सिफारिस गरिएका कोदोका जातलाई एउटै स्थानमा प्रत्यक्ष अवलोकन, तुलना र मूल्याङ्कन गर्ने अवसर पाउनेछन्। अनुसन्धानबाट स्थानीय हावापानी र माटोमा कुन जात बढी उपयुक्त छ, उत्पादन क्षमता कस्तो छ र किसानका लागि कुन जात बढी लाभदायक हुन सक्छ भन्ने निष्कर्ष निकालिने जनाइएको छ।
धनकुटा नगरपालिकाले अनुसन्धानबाट छनोट हुने उपयुक्त कोदोका जातको प्रवर्द्धन तथा बजारीकरणमा समेत सहयोग गर्ने जनाएको छ। नगरपालिकाले कोदो तथा अन्य रैथाने बालीको प्रशोधनका लागि सहयोग गर्नुका साथै उत्पादित वस्तुको बजार व्यवस्थापनमा सहजीकरण गर्ने योजना रहेको आर्थिक विकास अधिकृत विकास अधिकारीले जानकारी दिनुभयो।








प्रतिक्रिया राख्नुहोस्