प्रतिनिधिसभा बैठक: बाढी–पहिरो पीडितलाई तत्काल राहत दिन माग
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले वर्षाका कारण विस्थापित र घरबारविहीन भएका नागरिकलाई तत्काल उद्धार,राहत तथा पुनर्स्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा सांसदहरूले वर्षायाम सूरु भएसँगै ग्रामीण क्षेत्रका कृषि बाली, विद्यालय भवन तथा स्थानीय नागरिकका आवासीय घरहरूमा भएको क्षति न्यूनीकरण, अवरुद्ध राजमार्गहरूको शीघ्र व्यवस्थापन र पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
नागरिकहरूको अनलाइन बैङ्किङ प्रणाली ह्याक गरी रकम चोरी हुने घटना वृद्धि भइरहेको भन्दै अनलाइन ठगी नियन्त्रणका लागि नीतिगत सुधार आवश्यक रहेकोमा सांसदहरूले जोड दिनुभयो ।
सांसदहरूले जेन जी आन्दोलनको क्रममा घाइते भएका युवाहरूको गम्भीरताका आधारमा वर्गीकरण गरी आवश्यक रोजगारी अवसर, उपचार खर्च र राहतको प्रबन्ध मिलाउनुपर्ने तथा नेपाली खेलाडी तथा खेलकुद क्षेत्रको प्रबन्धनलाई अझै बढी प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
यस्तै सांसदहरूले युवाहरूमा मदिरा सेवन, ई–सिगरेट र भेप जस्ता सुर्तीजन्य पदार्थको प्रयोगका कारण स्वास्थ्यमा नकारात्मक असर देखिएकाले यस्ता पदार्थको प्रयोगलाई निरुत्साहित गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रतिनिधिसभा बैठकमा सांसदहरूले समसामयिक विषयहरूमा बोल्ने क्रम जारी छ ।








प्रतिक्रिया राख्नुहोस्