रेडियो नेपालका भोजपुर संवाददाता गणेश बिष्टसहित चार पत्रकार सम्मानित
भोजपुर। रेडियो नेपाल भोजपुरका संवाददातासहित जिल्लामा क्रियाशील चार जना पत्रकारलाई विभिन्न विधामा पुरस्कृत तथा सम्मान गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ भोजपुर शाखाको वार्षिक साधारण सभाको अवसर पारेर आयोजित विशेष कार्यक्रममा उनीहरूलाई नगदसहित पुरस्कृत गरिएको हो ।
महासङ्घका अध्यक्ष ध्रुव सुवेदीका अनुसार ‘श्रेष्ठ मनमाया अमर पुरस्कार २०८२’ बाट रेडियो नेपाल भोजपुरका संवाददाता गणेश विष्ट र ‘श्रेष्ठ मनमाया अमर पुरस्कार २०८१’ बाट अवतारमान राई पुरस्कृत भएका छन् । यसैगरी, पत्रकारितामार्फत पर्यटन क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्याएबापत ‘तिलकबहादुर–मनमाया राई पर्यटन पुरस्कार’ मिडन मगरलाई प्रदान गरिएको छ भने ‘लोकनाथ दाहाल स्मृति खोज पत्रकारिता पुरस्कार’ सरिता सुनुवारलाई प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्नुहुँदै महासङ्घका अध्यक्ष सुवेदीले पत्रकारितालाई जिम्मेवार, सत्यनिष्ठ र जनउत्तरदायी बनाउन यस्ता पुरस्कार र सम्मानले सकारात्मक प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । पत्रकारहरू समाजका ऐना भएकाले निष्पक्ष, तथ्यपरक र सन्तुलित समाचार सम्प्रेषणमा सदैव प्रतिबद्ध रहनुपर्नेमा उहाँले जोड दिनुभयो । साथै, पत्रकारहरूको पेशागत सुरक्षाका लागि महासङ्घले निरन्तर ध्यान दिइरहेको समेत उहाँले बताउनुभयो ।
कार्यक्रमका अन्य वक्ताहरूले वर्तमान समयमा पत्रकारिता क्षेत्रले सामना गरिरहेका चुनौती, सामाजिक सञ्जालको बढ्दो प्रभाव र प्रविधिको विकाससँगै भित्रिएका अवसरबारे आफ्ना धारणा राखेका थिए । उनीहरूले स्थानीय पत्रकारिताको सुदृढीकरण र निरन्तरताका लागि राज्य तथा सरोकारवाला निकायको थप सहयोग आवश्यक रहेको औँल्याउनुभयाे ।
सोही अवसरमा महासङ्घका पूर्वअध्यक्ष शाहीमान राईलाई पत्रकारिता क्षेत्रमा पुर्याएको दीर्घकालीन योगदानको कदर गर्दै विशेष सम्मान गरिएको छ ।
साधारण सभाले आगामी कार्ययोजना, पत्रकारहरूको क्षमता अभिवृद्धि र पेशागत सुरक्षालगायतका विषयमा छलफल गर्दै विभिन्न महत्त्वपूर्ण निर्णयहरू समेत गरेको छ । सभामा महासङ्घका सचिव विवेश राईले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष मोहन तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्