संसद्मा प्रधानमन्त्रीको जवाफ खोज्दै प्रतिपक्षीबाट प्रतिनिधिसभा बैठक अवरोध

काठमाडौँ । संसद्मा प्रधानमन्त्री बालेन्द्र शाहको जवाफ खोज्दै प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरोध गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालबाटै प्रतिनिधिसभा नियमावलीको पालना नभएको पनि उनीहरूले आरोप लगाएका छन् ।
नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कहिले हुन्छ भनेर प्रश्न गर्नुभयो ।
सभामुखले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विधेयकहरू अगाडि बढाउन समय दिए लगत्तै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गर्नुभयो ।
नेकपा एमाले प्रमुख सचेतक ऐन महर र श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुन नसकेको विषय बताउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संविधानको धारा ७६ को १ मा व्यवस्था गरिएको मन्त्रिपरिषद्का सदस्य र प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुने भन्ने व्यवस्थालाई छल्न सरकार उद्धत रहेको बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्वु ओलीले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन नहुँदा प्रतिपक्षको मात्रै नभएर सत्तापक्षले समेत सोध्न सक्ने प्रश्न प्रकट हुन नपाएको बताउनुभयो ।
प्रधानमन्त्री महिनाको एक पटक आउनुपर्ने भनेर नियमावलीमा लेखिएको नियम पालना गराउन सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गर्नुपर्ने प्रतिपक्षीको माग रहेको छ ।
सभामुख प्रतिपक्षीको विरोधका बीच सभामुखले बैठक अगाडी बढाउन खोजे पनि सांसदहरुले उठेर विरोध जारी राखेपछि सभामुख डोलप्रसाद अर्यालले आजै १५ मिनेटपछि बस्ने गरी बैठक स्थगित गर्नुभयो ।
सभामुखले १५ मिनेटका लागि स्थगित गर्नुभएको प्रतिनिधिसभा बैठक अझै बस्न सकेको छैन ।








प्रतिक्रिया राख्नुहोस्