तपाईँ सुन्दै हुनुहुन्छः

आरोहणका लागि चुचुरोसम्मको बाटो तयार

सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो निर्माणको काम सम्पन्न भएको छ । 

‘स्प्रिङ’ सिजनको सगरमाथा आरोहणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेकाको आयोजनामा आठ जना आइसफल डाक्टरको टोलीले सगरमाथा आधार शिविरबाट क्याम्प २ सम्म निर्माण गरेपछि त्यसभन्दा माथि एक्सपिडिशन अपरेटर एसोसिएशन अफ नेपालले चुचुरोसम्मको बाटो तयार भएको हो । 

दोस्रो शिविरभन्दा माथि डोरी टाँग्दै मार्ग निर्माणमा खटिएको अनुभवी आरोहीहरूको टोली सफलतापूर्वक शिखरमा पुगेर डोरी टाँग्ने काम सम्पन्न भएको टोलीको व्यवस्थापन गरिरहेको कम्पनी एक्सपिडिशन अपरेटर एसोसिएशनले अफ नेपालले जनाएको छ ।

कम्पनीका अनुसार मिङ्मा तेम्बा शेर्पाको नेतृत्वमा उहाँसहित पासाङ नुर्बु शेर्पा र डेन्डी शेर्पको टोली शिखरमा पुगेको हो । सगरमाथा आरोहणका लागि हरेक सिजनमा गरिने टोरी टाँग्ने काम अत्यन्तै महत्वपूर्ण हुन्छ । अब आरोहीहरू तिनै डोरी प्रयोग गर्दै शिखरतर्फ जानेछन् । यस सिजनमा खुम्बु आइसफलमा पुरानो मार्ग अवरुद्ध भएपछि समस्या भएको थियो ।

आइसफल डाक्टरहरूले खुम्बु आइसफलमा बाटो खुलाएपछि दोस्रो शिविरभन्दा माथि अनुभवी आरोहीहरू खटिएको जनाइएको छ । शिखरसम्म डोरी टाँग्ने काम भइसकेकोले अब मौसम अनुकूल हेरेर आरोहण सुरु हुनेछ । यसपालि सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै ४९२ जनाले अनुमति लिएका छन् भने सगरमाथाबाट मात्रै रोयल्टीबापत एक अर्ब रुपैयाँभन्दा धेरै सङ्कलन भएको छ । 

हरेक बर्ष हिउँ परेर बिग्रिएको पुरानो बाटो पहिल्याउँदै नयाँ बाटो निर्माण गर्ने गरिन्छ । आइसफल डाक्टरहरूले आल्मुनियमका भर्‍याङ जोडेर आइसफलदेखि क्याम्प–२ सम्म खर्पसमा हिउँ जम्मा भएको बाटो सफा गर्ने, डोरी टाँग्ने र भर्‍याङ राख्ने काम गरेपछि मात्र आरोही सगरमाथाको चुचुरोसम्म पुग्न सक्छन् । 

पाँच हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविरबाट छ हजार चार सय मिटर उचाइको क्याम्प दुईसम्म दर्जनौँ सानाठूला हिमखाल्डा रहेका छन् । क्याम्प दुईभन्दा तल धेरै खाल्डा भएकाले बाटो बनाउने धेरै काम त्यहाँ गर्नुपर्छ । क्याम्प दुईमाथि हिमखाल्डा खासै छैनन् । क्याम्प दुईभन्दा माथिका लागि बाटो खोल्ने तथा डोरी बाँध्ने काम आरोहण टोलीका प्राविधिकहरूले नै सोही समयमा गर्छन् । 

आधार शिविरमा पदमार्ग निर्माण कार्य निकै जोखिमपूर्ण हुने भएकाले बौद्ध धर्मअनुसार लामाबाट पूजापाठ गरी बाटो निर्माणको साइत गरिन्छ । वर्षौँदेखि आइसफल डाक्टरको रुपमा काम गर्ने शेर्पाहरू ज्यान जोखिममा राखेर बाटो बनाउने गर्दछन् । हिमाल आरोहण गर्ने बाटो, हिउँ र बरफ खनेर डोरीको सहायताबाट निर्माण गर्नुपर्ने भएकाले ज्यान माया मारेर बनाउनुपर्ने आइसफल डाक्टरहरू बताउँछन् । सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहणका लागि प्रयोग गरिने आधार शिविर एउटै हो । आधार शिविरबाट क्याम्प दुई सम्म तीन वटै हिमालको आरोहणका लागि बाटो पनि एउटै प्रयोग हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button