तपाईँ सुन्दै हुनुहुन्छः

संघीय संसदमा ८ वटा अध्यादेश पेश

काठमाडौँ । संघीय संसदको आजको बैठकमा सरकारले ल्याएका आठ वटा अध्यादेश पेश भएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको आज बसेको छुट्टाछुट्टै बैठकमा सरकारले अध्यादेशहरू पेश गरेको हो ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सेाबिता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३, र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ पेस गर्नुभयो ।   

यसैगरी कानुन मन्त्री गौतमले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ पेश गर्नुभयो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ पेश गर्नुभयो ।

यस्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ पेस गर्नुभयो ।

यसैगरी, प्रतिनिधि सभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ सभा समक्ष पेस गर्नुभयो । 

प्रतिवेदन पेश गर्दै सभापति पराजुलीले संविधान, लोकतन्त्रको मर्म, प्रचलित कानुन, विगतका नियमावली, अन्तर्राष्ट्रिय प्रचलन तथा संसदीय अभ्यासलाई आधार मानेर सघन र गहन छलफल गरी प्रतिवेदन तयार पारेको बताउनुभयो । 

बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त संसदको अधिवेशन आव्हान र मन्त्री परिषद् हेरफेर सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुभयो ।

सभामुख अर्यालले प्रतिनिधिसभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा सभाको अध्यक्षता गर्ने ७ जना सदस्यहरु मनोनीत गर्नुभएको छ ।

सदस्यहरूमा कामिनी कुमारी, गंगालक्ष्मी अवाल, ताहिर अलि भाट, पूर्णप्रसाद लिम्बु, बलावती शर्मा, मिङमा ग्याबु शेर्पा र यज्ञबहादुर बोगटी रहनुभएको छ ।

सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाऊ आदेश अनुमोदनका लागि पेस गर्नु भएको प्रस्तावलाई सभाको बहुमतले अनुमोदन गरेको छ । 

प्रतिनिधि सभाको अर्को बैठक आजै ५ फेरी बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button