तपाईँ सुन्दै हुनुहुन्छः

जानकी जिल्लामै पहिलो पूर्णखोप सुनिश्चित पालिका घोषणा

बाँके । बाँकेको जानकी गाउँपालिका लाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । पालिका भित्रका ११ सय १७ जना बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सम्पूर्ण खोप प्राप्त गरेपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

पालिका स्तरीय खोप समन्वय समितिका उपाध्यक्ष समेत रहेका गाउँपालिका उपाध्यक्ष राम प्यारी यादवले पालिकाका ३४ वटै खोप केन्द्रमार्फत प्रत्येक महिना नियमित खोप सेवा सञ्चालन गर्दै कार्यक्रम सफल बनाइएको जानकारी दिनुभयो । उहाँका अनुसार छुटेका ५८ जना बालबालिकाको समेत खोजी गरी घरघरमै पुगेर खोप सेवा प्रदान गरिएको थियो ।

उपाध्यक्ष यादवले समाजमा अझै पनि खोपप्रतिको चेतनाको कमी रहेका कारण स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूले निकै मेहनत गर्नुपरेको स्मरण गर्नुभयो ।

जिल्ला समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्र चौधरीले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्दै उहाँले समुदायमा खोपसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नदिन पालिका प्रतिबद्ध रहेको बताउँदै जानकी गाउँपालिकाको प्रशंसा गर्नुभयो । उहाँले जिल्लामै पहिलो पूर्णखोप घोषणा गर्ने पालिकालाई बधाईसमेत दिनुभयो ।

“स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको गाउँपालिका प्रवक्ता टिकानाथ यादव ले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले स्वास्थ्य क्षेत्रमा जानकी गाउँपालिका लुम्बिनी प्रदेशमै उत्कृष्ट रहेको उल्लेख गर्दै जिल्लामै पहिलो पूर्णखोप सुनिश्चितता घोषणा गर्ने पालिकालाई बधाई दिनुभयो ।

वडा नम्बर ६ का अध्यक्ष जगदिश प्रसाद हरिजन तथा सामाजिक विकास समितिका संयोजक राम अचल धोबीले पनि खोप अभियानलाई प्रभावकारी बनाउन सबैको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।

पूर्णखोप सुनिश्चितता घोषणा पश्चात् पालिकाका स्वास्थ्य संयोजक दल बहादुर रानालाई प्रमाणपत्रसहित सम्मान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्ने अधिकांशले स्वास्थ्यसम्बन्धी खोप, टीका र अन्य औषधी सेवनमा जानकी अन्य पालिका भन्दा अगाडि रहेकोले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नका लागि स्वास्थ्यकर्मीको भूमिका अतिनै सराहनीय रहेको बताउनुभयो । बाँकेका ८ पालिका मध्ये जानकी पूर्ण खोप घोषणा गरेर प्रथम बनेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपाध्यक्ष सिता कार्की, वडा नम्बर १ का अध्यक्ष मोहम्मद रजा राई, वडा नम्बर २ का अध्यक्ष चन्द्रिका प्रसाद गुप्ता, वडा नम्बर ३ का अध्यक्ष राज कुमार बर्मा, वडा नम्बर ५ का अध्यक्ष टिका नाथ यादव, आइटी अधिकृत बिकास जिसी, वडा नम्बर ६ का सदस्य अजमत अलि, कार्यपालिका सदस्य निर्मला हरिजन तथा जनस्वास्थ्य अधिकृत टामलाल बेल्बासे लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button