तपाईँ सुन्दै हुनुहुन्छः

‘अध्यादेशमार्फत शासन गर्नु शक्तिको दुरुपयोग’

काठमाडौँ । राष्ट्रिय सभाको बैठकमा सांसदहरूले बहुमतको सरकारले अध्यादेशमार्फत शासन गर्नु संविधानको मर्म विपरीत शक्तिको दुरुपयोग भएको बताउनुभएको छ । 

राष्ट्रिय सभाको आज बसेको बैठकमा सांसदहरूले विधिको शासनलाई निस्तेज पार्न खोज्ने सरकारको प्रयासलाई आपत्तिजनक भन्दै शक्ति पृथकीकरणको सिद्धान्तलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा सांसदहरुले सरकारको शासन सञ्चालन गर्ने आधार संविधान र प्रचलित ऐन–कानुन भएकाले बालबालिका, सुकुम्बासी, ज्येष्ठ नागरिक तथा सरकारी कर्मचारीप्रति संवेदनशील भई सरकारले सर्वोच्च अदालतको मर्यादा र आफ्नो अधिकार जिम्मेवारीका साथ प्रयोग गर्नुपर्ने बताउनुभयो ।

सांसदहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि, महँगी र कालोबजारी नियन्त्रण गरी गरिब, मजदुर, किसान तथा सीमान्तकृत समुदायका लागि सार्वजनिक वितरण प्रणाली स्थापना गर्नुपर्ने तथा प्रभावकारी बजार अनुगमन र आपूर्ति शृङ्खलालाई चुस्त बनाई आम नागरिकहरूलाई राहत दिनुपर्नेमा जोड दिनुभयो ।

यसअघि बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले अधिवेशन आह्वान लगायत राष्ट्रपतिबाट प्राप्त पत्रहरूको बेहोरा जानकारी गराउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button