“गरौँ योग, रहौँ निरोग” अभियान सहित वालिङमा वृहत् योग शिविर सुरु
स्याङ्जा । स्याङ्जाको वालिङ यतिबेला योगमय बनेको छ । स्वस्थ जीवनशैली र मानसिक सन्तुलनको सन्देश फैलाउने उद्देश्यसहित गण्डकी प्रदेश स्तरीय सात दिने योग शिविर तथा सह योग शिक्षक प्रशिक्षण कार्यक्रम वालिङमा सुरु भएको हो ।

वालिङ खेलमैदानमा सुरु भएको कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै वालिङ नगरपालिका उपप्रमुख कविता गैह्रेले आधुनिक जीवनशैलीका कारण मानिसहरू विभिन्न दीर्घ रोगको जोखिममा परिरहेको उल्लेख गर्दै योगलाई स्वस्थ र अनुशासित जीवनको आधारका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले दैनिक योग अभ्यासले शरीरलाई मात्र होइन, मनलाई पनि सन्तुलित र सकारात्मक बनाउने धारणा राख्नुभयो ।
शिविरमा पतञ्जलि योगपीठ हरिद्वारकी महिला योग समिति नेपालको मुख्य केन्द्रीय प्रभारी साध्वी देवादितिले मुख्य प्रशिक्षण दिइरहनुभएको छ । पतञ्जलि योग नेपाल अन्तर्गत पतञ्जलि योग समिति र महिला पतञ्जलि योग समितिको सहकार्यमा सञ्चालन भइरहेको कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधिमूलक सहभागिता रहेको छ ।
आयोजकका अनुसार बिहान ५ बजेदेखि ७ः३० बजेसम्म सर्वसाधारणका लागि निःशुल्क योग विज्ञान शिविर सञ्चालन हुनेछ । त्यसपछि बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म आवासीय सह–योग शिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिनेछ । प्रशिक्षणमा सहभागी हुन रु. २ हजार शुल्क निर्धारण गरिएको छ ।
तालिम पूरा गर्ने सहभागीहरूले पतञ्जलि योगपीठको सदस्यता, प्रमाणपत्र तथा स्थायी परिचयपत्र प्राप्त गर्नेछन् । यसले भविष्यमा हरिद्वार स्थित पतञ्जलि योगपीठका विभिन्न कार्यक्रम तथा प्रशिक्षणमा सहभागी हुने अवसर समेत प्रदान गर्ने आयोजकले जनाएको छ । सदस्यता नलिई पनि तालिममा सहभागी हुन सकिने भए पनि त्यस्ता सहभागीले प्रमाणपत्र र परिचयपत्र भने प्राप्त गर्ने छैनन् ।
स्याङ्जाका ११ वटै पालिकाबाट सहभागीहरूको उपस्थिति रहेको कार्यक्रममा गण्डकी प्रदेशका अन्य जिल्लाबाट समेत सहभागिता जनाइएको छ ।
विद्यार्थीलाई योगप्रति आकर्षित गर्न विशेष कार्यक्रम समेत राखिएको छ । हरेक दिन बिहान १० देखि ११ बजेसम्म विद्यालय स्तरीय योग अभ्यास गराइनेछ, जसअन्तर्गत दैनिक चार विद्यालयका विद्यार्थीलाई योग शिविरमा सहभागी गराइने आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्