‘सुशासनका सन्दर्भमा सरकारले गरेको प्रयत्नमा काँग्रेसको समर्थन’
धनगढी । नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले सुशासनका सन्दर्भमा सरकारले गरेको प्रयत्नका लागि पार्टीको समर्थन रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेसको जरा अभियान अन्तर्गत आज धनगढीमा आयोजित प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्नुहुँदै सभापति थापाले राष्ट्रिय हित, सुशासन, अर्थतन्त्र सुधारका सवालमा सरकारलाई सहयोग र समर्थन रहने बताउनुभयो ।
सभापति थापाले सत्ता र शक्तिको आडमा लोकतन्त्रलाई नियन्त्रण र भयभीत बनाउन खोजिए नेपाली काँग्रेस सतिसाल भएर उभिने, त्यो काँग्रेसको धर्म भएको बताउनुभयो ।
तत्कालीन सभापति शेरबहादुर देउवाको योगदान काँग्रेसको विरासत भएको र देउवाप्रति सदा सम्मान रहेको सभापति थापाले बताउनुभयो । उहाँले निर्वाचनमा पार्टीको नीति विपरीत काँग्रेस उम्मेदवारहरूलाई असहयोग गर्ने नेता कार्यकर्तालाई अनुशासनको कारबाही हुने स्पष्ट गर्नुभयो ।

उपसभापति विश्वप्रकाश शर्माले जरा अभियाले काँग्रेसलाई सशक्त, एकताबद्ध, ऊर्जाशील, सुदृढ बनाएर लैजाने बताउनुभयो । उहाँले निर्वाचनमा काँग्रेसले हार बेहोरे पनि निर्वाचनले लोकतान्त्रिक पद्धतिलाई बलियो बनाएको र जित हार काँग्रेसको जिन्दगी भइरहन्छ भन्नुभयो ।
यस्तै महामन्त्री गुरुराज घिमिरेले काँग्रेस रूपान्तरण भएर विशेष महाधिवेशनबाट युवा नेतृत्व आएको र अब कसैलाई भेदभाव नगरी योग्यता, क्षमता, योगदानका आधारमा जिम्मेवारी पाउने बताउनुभयो ।
भेलामा मुख्यमन्त्री कमल बहादुर शाह, पार्टीका सहमहामन्त्रीहरू प्रकाश रसाईली, उदय शमशेर राणा, योगेन्द्र चौधरी, केन्द्रीय सदस्यहरु भरत खड्का, जनकराज गिरि लगायतले पार्टीलाई एकजुट बनाएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्