तपाईँ सुन्दै हुनुहुन्छः

गुइगाड पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई करिब १८करोड जरिवाना

बाजुरा I बाजुराको गुइगाड खोलामा १५ वर्षसम्म पनि पुल निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीबाट सरकारले करिब १८ करोड रुपैयाँ असुल्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ । 

सडक डिभिजन कार्यालय साँफेबगर अछामले निर्माण कम्पनी राजेन्द्र–थेगि जेभीबाट १७ करोड ९९ लाख ३२ हजार ४४ रुपैयाँ असुल उपरका लागि सार्वजनिक सूचना जारी गर्दै कानुनी प्रक्रिया अगाडि बढाएको हो ।

सूचनामा तोकिएको अवधिभित्र रकम दाखिला नगरे आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ र नियमावली २०७७ अनुसार सरकारी बाँकी सरह असुल उपरका लागि कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयमा लगत कायम गरिने उल्लेख छ । 

अहिले कम्पनीले रकम नतिरेको भन्दै कार्यालयले अन्तिम चरणको प्रक्रिया अघि बढाइसकेको जनाएको छ । साँफे–मार्तडी सडक खण्डअन्तर्गत पर्ने गुइगाड खोलाको पुल अहिले अत्यन्त जोखिमपूर्ण अवस्थामा पुगेको छ । पुल कमजोर भएपछि सडक डिभिजन कार्यालयले “एक पटकमा एउटा मात्र गाडी” सञ्चालन गर्न भन्दै होर्डिङ बोर्ड समेत राखेको छ । जोखिम बढ्दै गएपछि बेलिब्रिज निर्माणका लागि केन्द्रमा बजेट माग गरिएको भए पनि पुरानो ठेकेदारबाट असुल उपर नभएसम्म नयाँ ठेक्का गर्न नमिल्ने निर्देशन आएको कार्यालयले जनाएको छ । 

२०६८ असारमा सडक डिभिजन कार्यालय साँफेबगर र राजेन्द्र–थेगि जेभीबीच २०७० साउन ३० भित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । करिब ९ करोड लागत अनुमान गरिएको पुल ५ करोड ९६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । तर निर्माण कम्पनीको लापरबाहीका कारण पुल निर्माण गुणस्तरहीन बनेको कार्यालयको आरोप छ । ०७५ सालमा कम्पनीले निर्माण सम्पन्न भएको दाबी गरेपछि प्राविधिक परीक्षण गरिएको थियो । परीक्षणका क्रममा स्टिमेट अनुसारका सामग्री प्रयोग नगरेको र ट्रस संरचनामा गुणस्तरहीन सामग्री जडान गरिएको भेटिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

६० मिटर लामो उक्त पुलले ४५ टन भार धान्नुपर्ने मापदण्ड भए पनि लोड टेस्टका क्रममा ३० टन भारसमेत धान्न नसकी पुल लच्किएको र चर्किएको थियो ।

निर्माण कम्पनीको लापरबाहीका कारण अहिले सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्गमै यात्रु र सवारीसाधनले दैनिक ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button