ताराखोलाका सामुदायिक वनमा भीर मह सङ्कलन सुरु
बागलुङ । पश्चिम बागलुङको ताराखोलाका सामुदायिक वनमा भीर मह सङ्कलन सुरु गरिएको छ ।
ताराखोला–५ मा पर्ने जुल्फे सामुदायिक वनमा भीर मह सङ्कलन गरिएको हो । सो वडाको ठुलो भीर र वडा नं. ३ हिलको गुफा सामुदायिक वनमा भीर मह सङ्कलन गर्ने तयारी छ । कुनै वर्षमा दुई याममा मह पाइए पनि प्रायः वर्षमा एकपटक मात्र सङ्कलन गरिन्छ ।

जुल्फे सामुदायिक वनको तारे भीरमा रहेका १३ घारबाट यस वर्ष ६० लिटर मह सङ्कलन गरिएको उपभोक्ता समूहका सचिव नारायण घर्तीले बताउनुभयो । यस वर्ष मह उत्पादन घटेको उहाँको भनाइ छ । गत वर्ष जुल्फे र ठुलो भीरमा २६० लिटर मह सङ्कलन गरिएको थियो । मौसम परिवर्तनको असर भीर मौरीमा देखिँदा वर्षेनि उत्पादन घट्दै गएको घर्तीले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय बागलुङका प्रमुख सरोज पन्थीले भने लामो समयको अन्तरालमा मह उत्पादन बढ्ने वा घट्ने अवस्थालाई मात्र जलवायु परिवर्तनको असर भन्न नसकिने बताउनुभयो । मौरीलाई मह बनाउन आवश्यक पानी अनुकूल समयमा नपर्नु र फूल फुल्ने समयको कमीका कारण पनि उत्पादन घट्न सक्ने उहाँको भनाइ छ ।
मह सङ्कलनपछि संलग्न भीरौटे, आवश्यक सामग्री बोक्ने भरिया र सहयोगीलाई बाँड्ने प्रचलन छ । बढी उत्पादन भएमा बिक्री गरी वन उपभोक्ता समितिको हितमा खर्च गरिन्छ । औषधिजन्य गुणयुक्त भीर मह प्रतिलिटर करिब ३ हजार रुपैयाँमा बिक्री हुँदै आएको छ ।
भीर मह सङ्कलन जोखिमपूर्ण हुने भएकाले जो–कोहीले सजिलै सङ्कलन गर्न सक्दैनन् । जिजुबाजेले सिकाएको ज्ञान र सीपलाई पछ्याउँदै हरेक वर्ष तारा खोलामा भीर मह सङ्कलन गरिन्छ ।
घर्तीका अनुसार लेकाली चोया र काठबाट बनेको पराङ मह सङ्कलनका मुख्य सामग्री हुन् । पराङकै सहायतामा सिकारीहरू भीरमा पुग्छन् । महको चाका निकाल्ने औजारसँगै निगालोको चोयाबाट बनेका डोका पनि प्रयोग हुने गर्छन् ।








प्रतिक्रिया राख्नुहोस्