वैदेशिक रोजगारीमा हुने ठगी रोक्न सरकार प्रतिबद्ध: मन्त्री यादव

काठमाडौँ I श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले वैदेशिक रोजगार प्रक्रियामा भइरहेको आर्थिक ठगी र श्रम शोषण नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सिंहदरबारमा बसेको बैठकमा मन्त्री यादवले आर्थिक ठगी गर्ने अनधिकृत एजेन्टहरूलाई हालको ऐनअनुसार उजुरीपछि पनि कारबाही गर्ने स्पष्ट कानुनी व्यवस्था नभएकाले नीतिगत तहबाट कानुनी स्रोतको पुनर्संरचना तथा संशोधन गर्न आवश्यक रहेको बताउनुभयो ।

मन्त्री यादवले विदेशमा श्रम शोषणमा परेका नेपाली श्रमिकहरूको उद्धार भइरहेको र हाल ७ सयभन्दा बढी स्थानीय तहमा श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाउने प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
बैठकमा सांसदहरुले निवेदनको भरमा वैदेशिक रोजगारीसम्बन्धी झूटा मुद्दामा निर्दोष व्यक्तिहरू माथि कारबाही भइरहेको र यस प्रक्रियालाई तुरुन्त रोक्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै बैठकमा सांसदहरुले श्रमिकहरूको रोजगारीमुखी तालिम र सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, डिजिटल साक्षरता वृद्धि, आन्तरिक रोजगारी सिर्जन गर्न स्रोत सुनिश्चितता, दीर्घ रोग भएका श्रमिकलाई स्वास्थ्य बीमाको व्यवस्था गर्नुपर्ने लगायतका समसामयिक विषयहरूमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री यादवको ध्यानाकर्षण गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्