तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा सडक विस्तारको विरोध: घरधनीहरूद्वारा ‘मानव साङ्लो’ निर्माण गरी प्रदर्शन

वीरगञ्ज । त्रिभुवन राजपथअन्तर्गत वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार गर्ने स्थानीय प्रशासन र सडक विभागको तयारीविरुद्ध घरधनीहरू आन्दोलनमा उत्रिएका छन् । 

आज वीरगन्जको मुख्य सडकका बासिन्दा तथा घरधनीहरूले ‘डोजर आतङ्क’ बन्द गर्न माग गर्दै सडकमा मानव साङ्लो निर्माण गरि विरोध प्रदर्शन गरेका छन् ।

गण्डकदेखि मितेरी पुलसम्मको व्यापारिक हबका रूपमा रहेको मुख्य सडकका घरधनीहरूले विकासको नाममा आफ्नो उठीबास लगाउन खोजिएको भन्दै आक्रोश व्यक्त गरे। उनीहरूले हातमा हात मिलाएर मानव साङ्लो बनाउँदै सडकको दुवैतर्फ प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरूले ‘हामी विकास र विस्तार चाहन्छौँ तर वैकल्पिक उपाय खोजौँ’ ‘विकासको नाममा विनाश गर्न पाइँदैन’ र ‘वीरगञ्जको मेनरोडलाई शहरी मार्ग कायम गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए ।

विरोध सभालाई सम्बोधन गर्दै स्थानीय घरधनीहरूले दशकौँ पुराना र कानुनी प्रक्रिया पुर्‍याएर निर्माण गरिएका घरहरू भत्काउँदा वीरगञ्जको अर्थतन्त्र र इतिहास नै समाप्त हुने दाबी गरे । उनीहरूले त्रिभुवन राजपथको वैकल्पिक मार्ग (बाइपास रोड) यसअघि नै सञ्चालनमा आइसकेकाले मुख्य बजार क्षेत्रको सडकलाई विस्तार नगरी ‘सहरी मार्ग’ (अर्बन रोड) का रूपमा विकसित गर्नुपर्ने माग राखेका छन् ।

“हामी विकासको विरोधी होइनौँ, तर हजारौँ परिवारलाई सुकुम्बासी बनाएर गरिने विस्तार न्यायसंगत छैन,” पूर्वमेयर विजय सरावगीले भन्नुभयो “सरकारले वैज्ञानिक अध्ययन गरेर मुआब्जा र विकल्पको बारेमा सोच्नुपर्छ, बिना योजना डोजर चलाउनु हुँदैन ।”

मुख्य सडक विस्तारको चर्चाले वीरगञ्जको प्रमुख व्यापारिक क्षेत्रमा सन्त्रास फैलिएको छ । स्थानीय प्रशासनले भने सडक सीमाभित्र रहेका संरचनाहरू हटाउन सूचना जारी गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button