तपाईँ सुन्दै हुनुहुन्छः

कोहलपुरको अतिक्रमित सार्वजनिक जग्गामा ७५१ घरधुरी, खाली गर्न नगरपालिकाको अल्टिमेटम

बाँके। बाँकेको कोहलपुर नगरपालिका–११ स्थित नगर विकास समितिको अतिक्रमित जग्गामा ७५१ घरधुरीका घरटहरा रहेको तथ्य सार्वजनिक भएको छ । कोहलपुर नगरपालिकाले गरेको व्यक्तिगत लगत सङ्कलनका क्रममा उक्त विवरण बाहिर आएको हो ।

नगर प्रमुख पूर्णप्रसाद आचार्यका अनुसार कोहलपुर नगर विकास समितिको कोहलपुर–३ (ख) अन्तर्गत क्रिकेट मैदान आसपासको करिब ३६ बिघा क्षेत्रफलमा अव्यवस्थित रूपमा बसोवास हुँदै आएको पाइएको छ । सङ्कलित तथ्याङ्कअनुसार त्यहाँ ४१६ अव्यवस्थित बसोवासी, १७२ भूमिहीन दलित र १६३ भूमिहीन सुकुमवासी गरी कुल ७५१ घरधुरी बस्दै आएका छन् ।

नगरपालिकाले सम्बन्धित निकायसँग समन्वय गरी गरेको प्रारम्भिक अध्ययनमा भूमिहीन दलिततर्फ ११ जना र भूमिहीन सुकुमवासीतर्फ एक जनाको अन्य जिल्लामा समेत जग्गाजमिन रहेको फेला परेको जनाएको छ । एउटै परिवारका सदस्यले फरक–फरक निवेदन दिएका कारण वास्तविक घरधुरी सङ्ख्या ७५१ भन्दा कम भई करिब ४०० आसपास हुन सक्ने अनुमान नगरपालिकाको छ ।

नगर प्रमुख आचार्यले बस्ती विस्तारका क्रममा केही बिचौलियाको संलग्नतामा नक्कली कागजात तयार गर्ने, अवैध रूपमा जग्गा किनबेच गराउने तथा आर्थिक लाभ उठाउने गतिविधिबारे उजुरी प्राप्त भएको जानकारी दिनुभयो । यस विषयमा सम्बन्धित निकायबाट अनुसन्धान प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो ।

नगर विकास समितिको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कानुनी प्रक्रिया पूरा नगरी कुनै व्यक्ति वा संस्थालाई हस्तान्तरण वा बिक्री गर्न नमिल्ने स्पष्ट कानुनी व्यवस्था रहेको उल्लेख गर्दै उहाँले अवैध रूपमा घरटहरा निर्माण तथा जग्गा कारोबार गर्नेहरूमाथि कानुनी कारबाही गरिने चेतावनी दिनुभयो ।

नगरपालिकाका अनुसार २०८० चैत ५ गते बसेको बोर्ड बैठकको निर्णयअनुसार स्वघोषणासहित निवेदन आह्वान गरेर लगत सङ्कलन गरिएको हो । सङ्कलित विवरण सुरक्षित राखिएको र वास्तविक भूमिहीन तथा सुकुमवासीको व्यवस्थापनका लागि वैकल्पिक स्थानको खोजी तथा छलफल जारी रहेको नगर प्रमुख आचार्यले बताउनुभयो ।

यसैबीच, नगरपालिकाले वैशाख १६ गते सूचना जारी गर्दै नगरभित्रका अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा १० दिनभित्र खाली गर्न अल्टिमेटम दिएको थियो । सूचनामा वैशाख २५ गते साँझ ७ बजेसम्म घरटहरा स्वयं हटाउन आग्रह गरिएको छ । अन्यथा वैशाख २६ गते बिहान ६ बजेदेखि नगरपालिकाले कानुनबमोजिम संरचना हटाउने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button