तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिफल दिने र कार्यान्वयनयोग्य आयोजना छनौट गर्न मुख्यमन्त्री कँडेलको निर्देशन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा प्रतिफल दिने र कार्यान्वयनमा लैजान सकिने योजनाहरू छनौट गर्न निर्देशन दिनुभएको छ । उहाँले प्रदेश र स्थानीय तहलाई क्रमशः आत्म निर्भर हुने क्षेत्रलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो । 

प्रदेश समन्वय परिषद्को सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको कर्णाली प्रदेश समन्वय परिषद्को एघारौं बैठकलाई सम्बोधन गर्दै उहाँले विकासलाई दीगो र आत्मनिर्भर बनाउन कार्यान्वयनमुखी योजना आवश्यक रहेको बताउनुभयो । मुख्यमन्त्री कँडेलले परम्परागत सोच र संरचनाबाट मात्र विकास सम्भव नहुने उल्लेख गर्दै संरचनात्मक सुधारबिना लक्ष्यमा पुग्न नसकिने स्पष्ट पार्नुभयो । 

मुख्यमन्त्री कँडेलले अब सञ्चालन हुने विकास आयोजनाहरू केवल खर्चमुखी मात्र नभई त्यसले प्रतिफल दिन सक्नुपर्नेमा जोड दिनुभयो । कृषि, पर्यटन, जलस्रोत, उद्योग र सेवा क्षेत्रलाई आय आर्जनको मुख्य आधारका रूपमा विकास गर्नुपर्ने उहाँको जोड थियो । 

उहाँले स्थानीय तहहरूलाई आफ्ना स्रोतसाधनको अधिकतम उपयोग गर्दै राजस्व संकलन वृद्धि गर्न आग्रह गर्नुभयो । साथै, संघीयता कार्यान्वयनको मूल मर्मअनुसार तीन तहका सरकारबीच सहकार्य, सहअस्तित्व र समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो ।

बैठकमा परिषद्का सदस्यहरूबीच विभिन्न समसामयिक विषयहरूमा छलफल भएको थियो । छलफलका मुख्य एजेन्डामा दशौं बैठकका निर्णयहरूको पुनरावलोकन तथा समीक्षा, स्थानीय तहका कर्मचारीहरूको विवरण र कार्यसम्पादन, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने विकास आयोजना तथा साझा अधिकारका विषयमा समन्वय र अन्तरसम्बन्ध कायम गर्ने विषय समावेश थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button