पूर्व प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको जन्मघर खण्डहर बन्दै
परासी। पश्चिम नवलपरासी — नेपालका पहिलो प्रजातान्त्रिक दल प्रजा परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री टङ्कप्रसाद आचार्य को जन्मघर संरक्षणको अभावमा जिर्ण बन्दै खण्डहर अवस्थामा पुगेको छ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–३, मालपोत कार्यालय परिसरभित्र रहेको उक्त ऐतिहासिक घर वर्षौंदेखि पुनर्निर्माण र संरक्षणको पर्खाइमा रहेको छ। तर सम्बन्धित निकायको उदासीनताका कारण संरचना निरन्तर क्षतिग्रस्त हुँदै गएको स्थानीयवासी बताउँछन्।

लुम्बिनी प्रदेश सरकारले घरलाई संग्रहालयमा रूपान्तरण गर्ने उद्देश्यसहित दुई पटक ५०/५० लाख रुपैयाँ बजेट विनियोजन गरे पनि कार्यान्वयन हुन नसक्दा रकम फिर्ता भएको छ। पुरातत्व विभागले जिर्णोद्धारमा रोक लगाएपछि काम अघि बढ्न नसकेको प्रदेशसभा सदस्य बैजनाथ जैसवालले जानकारी दिनुभयो।
मुख्यमन्त्री चेतनारायण आचार्यले भने यस विषयमा स्पष्ट जानकारी नभएको प्रतिक्रिया दिँदै संघीय नीतिगत निर्णयका कारण पनि लगानी प्रभावित भएको उल्लेख गर्नुभयो।
स्थानीय रामप्रसाद आचार्यका अनुसार ऐतिहासिक महत्व बोकेको यो घर संरक्षण नहुँदा दिनप्रतिदिन क्षति हुँदै गएको छ। उहाँका अनुसार मालपोत कार्यालयमा आचार्यका पिता कार्यरत रहेको ऐतिहासिक सन्दर्भ पनि यस स्थानसँग जोडिएको छ।

राणा शासनविरुद्धको आन्दोलनदेखि प्रजातान्त्रिक पुनर्बहालीसम्म महत्वपूर्ण भूमिका खेलेका टङ्कप्रसाद आचार्यको जन्मस्थल संरक्षण गर्न स्थानीय तहदेखि सरोकारवाला निकायसम्म पहल आवश्यक देखिएको छ।








प्रतिक्रिया राख्नुहोस्