रामग्राममा मौलिक सडक खाना महोत्सव, दर्शकको उल्लेख्य भीड
परासी।बुद्ध जयन्तीको अवसरमा रामग्राममा दुई दिने मौलिक दोस्रो सडक खाना महोत्सव सुरु भएको छ। “सडकमै खाऔं, सडकमै रमाऔं” भन्ने नारासहित रात्रीकालीन रूपमा सुरु गरिएको महोत्सवले स्थानीयस्तरमै नयाँ उत्साह थपेको छ। साथै, किशोरकिशोरीहरूलाई अन्तरसमुदायको कला र संस्कृतिबारे बुझ्ने अवसर पनि मिलेको छ।
रामग्राम मुलबासीको आयोजनामा तथा रामग्राम नगरपालिकाको संरक्षकत्वमा शनिबार र आइतबार सञ्चालन हुने महोत्सवमा विभिन्न समुदायका कलाकारहरूले गायन तथा सांस्कृतिक प्रस्तुति दिएका छन्।
स्थानीय कला, संस्कृति र परम्परागत खानाका परिकारहरूको प्रदर्शनीले महोत्सवलाई विशेष बनाएको कार्यक्रम व्यवस्थापक अशोक श्रेष्ठले जानकारी दिनुभयो।
सडकमै राखिएका ५३ वटा स्टलहरूमा स्थानीयदेखि बाह्य दर्शकको उल्लेख्य भीड देखिएको छ। दर्शकहरूले खानासँगै सांगीतिक प्रस्तुति र रमाइलो वातावरणको भरपुर आनन्द लिइरहेका छन्।
स्थानीय उत्पादन, मौलिक स्वाद र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो महोत्सवले रामग्राम क्षेत्रको पर्यटन र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको रामग्राम नगरप्रमुख धनपत यादवले बताउनुभयो।
रामग्राम नगरपालिका–५ स्थित घण्टाघर चोकमा आयोजित महोत्सवमा दर्शकको भीडले सडक भरिभराउ बनेको थियो। स्थानीयहरूले यस महोत्सवलाई जिल्लाको पहिचान बन्दै गएको बताएका छन्।








प्रतिक्रिया राख्नुहोस्