नरैनापुरमा अतिक्रमणविरुद्ध कडा अभियान, ७ दिनभित्र जग्गा खाली गर्न निर्देशन
बाँके । देशभर सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने अभियान तीव्र भइरहेका बेला बाँकेको नरैनापुर गाउँपालिकाले पनि अतिक्रमणविरुद्ध कडा कदम अघि बढाएको छ।
गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहद्वारा जारी सूचनाअनुसार अतिक्रमण गरी बसोबास वा संरचना निर्माण गरेका व्यक्तिहरूलाई ७ दिनभित्र स्वेच्छाले जग्गा खाली गर्न निर्देशन दिइएको छ। तोकिएको समयभित्र संरचना नहटाए गाउँपालिकाले डोजर प्रयोग गरी हटाउने चेतावनी दिएको छ।
गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलसँग समन्वय गर्दै अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने तयारी गरेको जनाएको छ।
प्रमुख प्रशासकीय अधिकृत नवराज वलीका अनुसार सार्वजनिक जग्गा संरक्षणसम्बन्धी परिपत्र कार्यान्वयनमा आइसकेको छ। ‘सरकारको एक सय कार्यसूची’ अन्तर्गत अतिक्रमण नियन्त्रण, संरक्षण र नयाँ अतिक्रमण रोक्ने नीति अनुसार अभियान अघि बढाइएको उहाँले बताउनुभयो।
स्थानीयका अनुसार करिब दुई दशकअघि तत्कालीन शाही शासनकालमा पनि अतिक्रमण हटाउने प्रयास भएको थियो। तर पछि विभिन्न शक्ति केन्द्रको संरक्षणमा पुनः अतिक्रमण बढ्दै गएको गुनासो छ।
नेकपा एमाले नरैनापुरका सचिव बिनय दिक्षितले सार्वजनिक सम्पत्ति संरक्षणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। अतिक्रमित क्षेत्रको यथार्थ विवरण तयार गरी प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उहाँको धारणा छ।
स्थानीयवासीले अभियानले दीर्घकालीन रूपमा सुव्यवस्थित बसोबास र पूर्वाधार विकासमा टेवा पुग्ने अपेक्षा गरेका छन्।







प्रतिक्रिया राख्नुहोस्