तपाईँ सुन्दै हुनुहुन्छः

ज्येष्ठ नागरिकहरूका लागि निमोनिया विरुद्धको निःशुल्क खोप दिइने

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले नगरभित्रका ज्येष्ठ नागरिकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै निःशुल्क निमोनिया विरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । 

नगरपालिकाको जनस्वास्थ्य शाखाका अनुसार  भोलि बैशाख ९ गतेदेखि ११ गतेसम्म नगरका विभिन्न स्वास्थ्य केन्द्रहरूमा यो अभियान सञ्चालन हुने छ ।

नगरपालिकाका वरिष्ठ जनस्वास्थ्य अधिकृत श्रीकृष्ण प्रजापतिका अनुसार यो अभियान विशेष गरी ७५ वर्ष उमेर पुगेका र सोभन्दा माथिका ज्येष्ठ नागरिकहरूका लागि लक्षित गरिएको छ । खोप लगाउन आउने नागरिकले नगरपालिकाको वडा कार्यालयबाट जारी गरिएको सामाजिक सुरक्षा भत्ता परिचय–पत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

ज्येष्ठ नागरिकको सुरक्षा र सहजताका लागि परिवारका कम्तीमा एक जना सदस्य अनिवार्य उपस्थित हुन समेत नगरपालिकाले अनुरोध गरेको छ ।

खोप कार्यक्रम बिहान १०ः३० बजेदेखि दिउँसो २ः३० बजेसम्म चल्नेछ । वडा अनुसार खोप लगाउने मिति र स्थान तोकिएको छ । बैशाख ९ गते बुधबार वडा नं. ४, ५ र ६ का लागि बालकुमारी स्वास्थ्य चौकी, भुलानखेल शहरी स्वास्थ्य केन्द्र र पाटी विहार केन्द्र कायम गरिएको छ ।

यसैगरी बैशाख १० गते बिहीबार वडा नं. १, २ र ३ का लागि लोकन्थली स्वास्थ्य चौकी (पुरानो भवन), जातिगाल शहरी स्वास्थ्य केन्द्र र कौशलटार शहरी स्वास्थ्य केन्द्र तोकिएको छ ।

बैशाख ११ गते शुक्रबार वडा नं. ७, ८ र ९ का लागि नगदेश स्वास्थ्य चौकी, बोडे शहरी स्वास्थ्य केन्द्र, बोडे स्वास्थ्य चौकी र निकोशेरा शहरी स्वास्थ्य केन्द्र कायम गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले दोस्रो चरणमा यो अभियान सञ्चालन भएको जनाउँदै यो अवसरको सदुपयोग गरी आफ्ना परिवारका ज्येष्ठ सदस्यहरूलाई सुरक्षित राख्न सम्पुर्ण नगरवासीहरूमा अपिल गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button