चार महिनादेखि प्रशासकीय अधिकृत विहीन बुढिगंगा-पाठ्यपुस्तक खरिदमा समस्या

बाजुरा I बाजुराको बुढीगंगा नगरपालिका पछिल्ला करिब चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बन्दा स्थानीय सरकारको सेवा प्रवाह गम्भीर रूपमा प्रभावित भएको छ।
अधिकृतको अभावका कारण दैनिक प्रशासनिक कामकाजदेखि आर्थिक कारोबारसम्म ठप्पजस्तै बनेका छन्।
नगर प्रमुख रामबहादुर बानियाँका अनुसार कार्तिक यता प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या झन् जटिल बनेको छ। “कार्तिकबाट करार कर्मचारीको म्याद नथप्ने निर्णय गर्यौँ, त्यसपछि केही कर्मचारी अख्तियारको निलम्बनमा परे। त्यसमाथि प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवा प्रवाह नै प्रभावित भएको उहाँले भन्नुभयो। अधिकृत नहुँदा योजना स्वीकृति, बजेट निकासा, कर्मचारीको तलबभत्ता वितरण, सिफारिसलगायतका अत्यावश्यक काममा ढिलाइ भइरहेको नगरपालिकाले जनाएको छ। चालु आर्थिक वर्ष सकिन तीन महिना मात्रै बाँकी रहँदा समेत विकास निर्माणका काम अघि बढ्न सकेका छैनन्।
नगरपालिकाका कर्मचारीका अनुसार निर्णयको पर्खाइमा महत्वपूर्ण फाइलहरू थन्किएका छन् भने पूर्वाधार निर्माणसम्बन्धी योजना कार्यान्वयन हुन सकेका छैनन्। यसले स्थानीय तहको समग्र कामकारबाहीमा गम्भीर असर पारेको छ।
शिक्षा क्षेत्रमा यसको सबैभन्दा बढी प्रभाव देखिएको छ। नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि सामुदायिक विद्यालयहरूले पाठ्यपुस्तक खरिद गर्न सकेका छैनन्।
स्थानीयका अनुसार तत्काल प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नगरिए सेवा प्रवाह थप प्रभावित हुने र विकास निर्माण पूर्ण रूपमा अवरुद्ध हुने खतरा बढेको छ।








प्रतिक्रिया राख्नुहोस्