‘स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छ’
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्थानीय तहमा खटाइने प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहतमा राख्नुपर्नेमा जोड दिनुभएको छ ।

आज रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउँदै आएको छ । यो तरिकाले तहगत सरकारबीच समन्वय, सहकार्य एवं कार्यक्रमहरूको प्रभावकारी रूपमा कार्यान्वयन गर्न, समस्या समाधान गर्न सो व्यवस्था परिमार्जन गर्न आवश्यक छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकमुष्ट रूपमा सम्बन्धित प्रदेशमा खटाउने र प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रिक्त रहेको स्थानीय तहमा खटाउने व्यवस्था गर्दा राम्रो हुन्छ ।”
मुख्यमन्त्री कँडेलले संविधानले परिकल्पना गरेअनुसार सङ्घीयतालाई पूर्ण रूपमा कार्यान्वयन गर्नका लागि अधिकार बाँडफाँडका विषयलाई छिटो टुङ्ग्याउनुपर्ने बताउनुभयो ।
सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वय तथा अन्तरसम्बन्ध ऐन, २०७७ को दफा ४ ९१० मा सङ्घले आफ्नो एकल वा साझा अधिकारको विषयमा कुनै कानुन वा नीति बनाउँदा प्रदेश तथा स्थानीय तहको एकल अधिकार अतिक्रमण नगर्ने भन्ने व्यवस्था रहेको छ ।
निजामती कर्मचारी समायोजन ऐनको दफा ११ मा प्रदेशको प्रमुख सचिव, सचिव, सङ्घीय निजामती सेवाबाट खटाउने भनिए पनि खटिएका कर्मचारीहरू सङ्घ सरकारका मात्र कुरा सुन्ने अवस्थाको अन्त्य गरिनुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड छ ।
मुख्यमन्त्री कँडेलले विकास निर्माणका काम गर्दा आफ्नो जग्गा नहुँदा प्रदेश सरकारलाई समस्या भइरहेकाले निजी जग्गा प्राप्ति गर्न विद्यमान जग्गा प्राप्ति ऐनमा प्रदेशको भूमिका बढाउनका लागि कानुनी प्रक्रिया टुङ्गो लगाउन पनि आग्रह गरिएको जानकारी दिनुभयो ।
सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण राष्ट्रिय मापदण्ड, २०८२ का कतिपय प्रावधानले प्रदेश र स्थानीय तहलाई ठूलो मात्रामा आर्थिक भार पर्ने भएकाले सङ्घीय निजामती सेवा ऐन नआउँदै जारी गरिएका कतिपय प्रावधानमा विरोधाभास देखिएकाले सच्याउन उहाँको माग छ ।
मुख्यमन्त्री कँडेलले विसं २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पका कारण तीन जिल्लाका स्थानीयवासी समस्या परेका र पुनःनिर्माण कार्य अझै अलपत्र अवस्थामा रहेकाले चालु आर्थिक वर्षभित्रै काम सुरु गर्न आग्रह गर्नुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्