तपाईँ सुन्दै हुनुहुन्छः

सिक्टा सिँचाइको डुडुवा शाखा नहर निर्माणले लियो गति

बाँके। राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत डुडुवा शाखा नहर निर्माण कार्य लामो अवरोधपछि तीव्र गतिमा अघि बढेको छ। विभिन्न प्राविधिक र कानुनी समस्याले रोकिएको आयोजना पुनः सुरु भएपछि स्थानीय किसानमा आशा बढेको छ।

नहर निर्माणमा बाधा बनेका विद्युत पोल, भूमिगत केबल र खानेपानीका पाइप व्यवस्थापन गर्दै काम अघि बढाइएको आयोजनाले जनाएको छ।

आयोजनाका इञ्जिनियर विकास विष्टका अनुसार २३.४ किलोमिटर लामो नहरबाट करिब १६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ। नहरअन्तर्गत खजुरा र मानपुर दुई मुख्य शाखा रहनेछन्।

उहाँका अनुसार विगतमा ठेक्का विवादका कारण काम रोकिएको थियो। पुरानो ठेक्का रद्द गरेर नयाँ कम्पनीमार्फत निर्माण सुरु गरिएको हो।

नेपालगञ्ज–सुर्खेत सडक खण्डअन्तर्गत पिप्रहवादेखि राझासम्म करिब ५ किलोमिटर क्षेत्रमा टनेलमार्फत नहर निर्माण गरिनेछ भने बाँकी भाग खुला संरचनामा बन्नेछ।

रामेछाप शेर्पा कन्स्ट्रक्सन प्रालिले करिब १ अर्ब १२ करोड रुपैयाँ लागतमा तीन वर्षभित्र सम्पन्न गर्ने जिम्मा पाएको छ। कम्पनीका अनुसार हालसम्म २६ प्रतिशत भौतिक प्रगति भएको छ र असार मसान्तसम्म ४० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ।

आयोजना प्रमुख राजु आचार्यले विभिन्न निकायसँगको सहमतिमा अवरोध हटाउँदै निर्माणलाई निरन्तरता दिइएको बताउनुभयो।

नहर सम्पन्न भएपछि डुडुवा, खजुरा, नेपालगञ्ज र जानकी क्षेत्रका किसानले वर्षैभरि सिँचाइ सुविधा पाउने अपेक्षा गरिएको छ। यसले कृषि उत्पादन बढाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button