तपाईँ सुन्दै हुनुहुन्छः

मध्यपुर थिमिलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न अभियान सञ्चालन हुने

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने उद्देश्यले मध्यपुर थिमि नगरपालिकाले गन्तव्य मध्यपुर अभियान सञ्चालन गर्ने भएको छ ।

मध्यपुर थिमिमा नयाँ वर्षमा हुने बिस्केट (बिस्का) जात्रा–२०८२ लाई लक्षित गर्दै विभिन्न सांस्कृतिक, आर्थिक तथा पर्यटन प्रवर्द्धन कार्यक्रमहरूका साथ गन्तव्य मध्यपुरको शुभारम्भ गर्न लागिएको हो ।

नगरपालिकाले गरेको पत्रकार सम्मेलनमार्फत नगर प्रमुख सुरेन्द्र श्रेष्ठले यसलाई अभियानको रुपमा लैजाने योजना रहेको बताउनुभयो । त्यसका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरेको पनि जानकारी दिनुभयो ।

विशेष गरी बिस्केट जात्रा, परम्परागत बाजागाजा, स्थानीय संस्कृति, हस्तकला तथा मौलिक परिकारको प्रवद्र्धनमा जोड दिइएको उहाँको भनाई छ ।

नगरपालिकाका अनुसार पहिलो पटक यस अन्तर्गत चैत २८ गते शंखधर चोक थिमिमा स्थानीय उत्पादन तथा हस्तकला प्रवर्द्धन तथा विक्री केन्द्रको उद्घाटन, चैत २८ गते नै निगु पुखु (दुई पोखरी)मा खुल्ला धिमे बाजा प्रतियोगिताको उद्घाटन गरिने भएको छ ।

चैत २८ र २९ गते दुई दिन घरेलु तथा साना उद्योगसँगको सहकार्यमा स्थानीय रैथाने घरेलु उत्पादन विक्री स्थल तथा मेला र स्थानीय परिकारको कार्यक्रम निगु पुखु दुई पोखरीमा, चैत २९ गते नै दुई पोखरीमा बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सांस्कृतिक कार्यक्रम हुनेछ ।

साथै चैत ३० देखि बैशाख २ गतेसम्म बिस्केट जात्रा मनाइने र वैशाख २ गते बोडेमा प्रसिद्ध जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिने जानकारी समेत दिइयो ।

नगरपालिकाले स्थानीय उत्पादनको बजारीकरण, युवालाई रोजगारी सिर्जना तथा आन्तरिक–बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले कार्यक्रमहरू आयोजना गरिएको जनाएको छ ।

पत्रकार सम्मेलनमा नगरपालिकाले विभिन्न सरोकारवाला निकाय, स्थानीय समुदाय तथा व्यवसायीसँग सहकार्य गर्दै कार्यक्रम सफल बनाउन सबैको सहयोगको अपेक्षा गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button