धनकुटामा आर्थिक गणना हुँदै
धनकुटा । धनकुटा जिल्लामा आगामी वैशाखको पहिलो साताबाट सुरु हुने ‘राष्ट्रिय आर्थिक गणना २०८२’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
जिल्ला आर्थिक गणना कार्यालय, धनकुटाले मङ्गलवार जिल्लास्थित विभिन्न सरोकारवाला निकायहरूको उपस्थितिमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी जिल्ला स्तरीय गोष्ठी आयोजना गरी तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने उक्त गणना राष्ट्रिय अभियान भएकोमा सबैले मिलेर सफल पार्नुपर्ने कार्यक्रममा सहभागीहरूको जोड रहेको छ । आर्थिक गणनामा २१ वटा शीर्षक आर्थिक तथ्याङ्क सङ्कलन गरिने भएको छ ।
धनकुटा जिल्लामा आर्थिक गणनाका लागि ३ जना सुपरिवेक्षक र २२ जना गणक नियुक्त गरी परिचालन गरिने जिल्ला आर्थिक गणना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गणक तथा सुपरिवेक्षकलाई चैत २६ गतेदेखि ३० गतेसम्म पाँच दिनको तालिम दिएर परिचालन गरिने छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले आर्थिक गणनालाई सफल बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । त्यसैगरी जिल्ला समन्वय समिति उपप्रमुख सावित्रा राईले तथ्याङ्क सङ्कलनका क्रममा घर–घर पुग्ने गणकलाई सत्य र सही विवरण प्रदान गर्न सबैलाई आग्रह गर्नुभयो ।
गोष्ठीमा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी, होटल तथा किराना पसल व्यवसायीका प्रतिनिधि तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्