मुगु कर्णालीमा पानी घट्दै, हिमालमा हिउँ कम पर्न थालेपछि स्थानीय चिन्तित
मुगु। पछिल्ला केही वर्षयता मुगु जिल्लाको कर्णाली नदीमा पानीको सतह घट्दै गएको स्थानीयवासीले बताएका छन्। विगतमा हिमालमा बाक्लो हिउँ जम्ने र गर्मी याममा पग्लिएर नदीमा पानीको बहाव बढ्ने अवस्था रहे पनि अहिले त्यो क्रम कमजोर बन्दै गएको देखिएको छ।
विशेषगरी नदीको उद्गमस्थल माथिका उच्च हिमाली क्षेत्रमा हिउँ पर्ने मात्रा घटेपछि यसको प्रत्यक्ष असर नदीको बहावमा परेको स्थानीयहरूको भनाइ छ। छायाँनाथ रारा नगरपालिका–७ निवासी सौर्या शाहीले भन्नुभयो, “पहिले हिमाल सेताम्मे हुन्थ्यो, गर्मीमा हिउँ पग्लिएर नदीमा पानी निकै बढ्थ्यो। अहिले हिउँ कम परेपछि नदीमा पानी पनि घट्दै गएको छ।”
यस्तै, छायाँनाथकै अर्का स्थानीय सिपा मल्लले पनि पछिल्ला वर्षहरूमा मौसममा ठूलो परिवर्तन आएको बताउनुभयो। उहाँले भन्नुभयो, “पहिले जाडोमा हिउँ पर्थ्यो, अहिले त्यस्तो देखिँदैन। हिउँ कम परेपछि खोला–नदीमा पानी पनि पहिले जस्तो छैन।”
स्थानीयका अनुसार जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ पर्ने प्रणालीमा परिवर्तन आउँदा मुगुजस्ता महत्वपूर्ण नदीहरूमा पानीको सतह घट्दै गएको हुनसक्छ। यसले कृषि, खानेपानी र जलविद्युत् क्षेत्रहरूमा दीर्घकालीन असर पार्ने चिन्ता बढाएको छ।








प्रतिक्रिया राख्नुहोस्