खडेरी र मल अभावले नवलपरासीका किसान दोहोरो मारमा
नवलपरासी। असारमै खडेरी परेपछि नवलपरासीका किसान चिन्तित बनेका छन्। भूमिगत सिँचाइको पहुँच भएका किसानले धान रोपाइँ गरे पनि सिँचाइ सुविधा नपुगेका अधिकांश किसानले अझै रोपाइँ गर्न सकेका छैनन्।
आकाशे पानी नपर्दा जिल्लाका आधाभन्दा बढी खेतमा धान रोपाइँ हुन सकेको छैन। जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार हालसम्म करिब ४२–४३ प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ सम्पन्न भएको छ। रोपिएको धान पनि पर्याप्त पानी नपाउँदा सुक्न थालेको र खेतमा धाँजा फाट्न थालेपछि किसान थप चिन्तित बनेका छन्।
सरावल गाउँपालिका–३ का कृषक रामानन्द हरिजनले पानी नपर्दा सबै खेतमा रोपाइँ गर्न नसकिएको र भूमिगत सिँचाइबाट रोपिएको धानसमेत सुक्न थालेको बताए।
जिल्लामा करिब २० हजार ४ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। आधा असार बित्न लाग्दा पनि खडेरीका कारण स्यालो ट्युबवेल, लिफ्ट सिँचाइ र बोरिङको सुविधा पुगेका क्षेत्रमा मात्रै रोपाइँ भएको छ।
केही दिनयता बढेको अत्यधिक गर्मीले जनजीवनसमेत कष्टकर बनेको छ। खडेरीसँगै रासायनिक मलको अभावले पनि किसान थप समस्यामा परेका छन्।








प्रतिक्रिया राख्नुहोस्