नेपालगन्जमा विद्युत समस्या चर्कियो, उद्योगी र सर्वसाधारण मारमा
बाँके। बाँकेको नेपालगन्जमा लामो समयदेखि देखिएको अनियमित विद्युत आपूर्ति र न्यून भोल्टेजको समस्याले सर्वसाधारणसँगै उद्योग–व्यवसायसमेत प्रभावित भएका छन्। अत्यधिक गर्मीका बीच पटक–पटक हुने विद्युत अवरोध र लो भोल्टेजका कारण नागरिकको दैनिकी कष्टकर बनेको छ भने उद्योगहरूले दैनिक लाखौँ रुपैयाँको क्षति व्यहोर्नुपरेको बताएका छन्।
नेपालगन्जस्थित गरिमा पोलिमर इन्डस्ट्रिज प्रालिका सञ्चालक गौरव डागाले गुणस्तरीय विद्युत आपूर्ति नहुँदा उद्योग सञ्चालन चुनौतीपूर्ण बनेको बताए। उनका अनुसार भोल्टेज घट्नेबित्तिकै मेसिन बन्द हुने र पुनः सञ्चालन गर्न दुईदेखि तीन घण्टासम्म लाग्ने भएकाले उत्पादन प्रभावित हुने, श्रमिकको समय खेर जाने र उत्पादन लागत बढ्ने गरेको छ।
नेपाल हब्र्स प्रोसेसिङ प्लान्टका सञ्चालक सकील अहमद जसगढले पनि लो भोल्टेजका कारण मेसिनका पार्टपुर्जा बिग्रने, उत्पादन अवरुद्ध हुने र आर्थिक क्षति बढ्दै गएको बताए। उनका अनुसार प्लास्टिक उद्योगमा बीचमै विद्युत अवरोध हुँदा पगालिएको कच्चा पदार्थ चिसिने भएकाले उत्पादन प्रक्रिया पुनः सुरु गर्नुपर्दा लागत दोब्बर हुने गरेको छ।
नेपालगन्जमा रातिको समयमा समेत पटक–पटक विद्युत अवरुद्ध हुने गरेकाले स्थानीय बासिन्दा पनि समस्यामा परेका छन्। स्थानीय ओम पियुष बनियाँले पंखा, कूलर र एसी प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा बालबालिका, वृद्धवृद्धा र बिरामीलाई बढी समस्या भएको बताए। बारम्बारको लो भोल्टेजले घरायसी विद्युतीय उपकरण बिग्रने जोखिमसमेत बढेको उनको भनाइ छ।
उद्योगीहरूले देशले विद्युत निर्यात गरिरहेको अवस्थामा स्वदेशमै गुणस्तरीय विद्युत आपूर्ति हुन नसक्नु विडम्बनापूर्ण भएको बताएका छन्। उनीहरूले उत्पादनमूलक क्षेत्रलाई भरपर्दो विद्युत उपलब्ध गराउन सरकार र सम्बन्धित निकायले प्राथमिकता दिनुपर्ने माग गरेका छन्।
नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्राले हालको समस्या स्थानीय वितरण प्रणालीका कारण नभई १३२ केभी राष्ट्रिय प्रसारण लाइनमा देखिएको अवरोधका कारण भएको बताए। उनका अनुसार कोहलपुर–नेपालगन्ज ३३ केभी प्रसारण लाइन विस्तारको काम सम्पन्न भएपछि विद्युत आपूर्ति थप भरपर्दो हुने अपेक्षा गरिएको छ। स्थानीय अवरोधका कारण निर्माण कार्य केही ढिलो भएको उनले जानकारी दिए।
मिश्राले न्यून भोल्टेजको दीर्घकालीन समाधानका लागि नेपालगन्ज आसपास विद्युत उत्पादन केन्द्र स्थापना वा प्रसारण पूर्वाधार विस्तार आवश्यक रहेको बताए। उनले हालको विद्युत कटौतीको प्रत्यक्ष सम्बन्ध विद्युत निर्यातसँग नरहेको पनि स्पष्ट पारे।
नेपालगन्जका उद्योगी, व्यवसायी र सर्वसाधारणले बढ्दो गर्मीका बेला नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल प्रभावकारी पहल गर्नुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार विद्युत सेवा सुधार नभएसम्म उद्योगको उत्पादन, स्थानीय अर्थतन्त्र र नागरिकको दैनिक जीवनमा पर्ने असर अझ गम्भीर बन्दै जानेछ।








प्रतिक्रिया राख्नुहोस्