तपाईँ सुन्दै हुनुहुन्छः

पिएम कप कप : मधेश र सुदूर विजयी, मधेश शीर्ष स्थानमा  

जनकपुरधाम । जारी रहेको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज मधेश प्रदेशमा भएको दुई खेलमा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।

जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रङ्गशालामा सम्पन्न भएको खेलमा मधेस प्रदेशले लुम्बिनी प्रदेशलाई २५ रनले पराजित गरेको छ । यसै गरि वीरगञ्जस्थित नारायणी रङ्गशालामा भएको खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गर्दै विजयी भएको छ ।

जनकपुरधाममा भएको खेलमा टस जितेर ब्याटिङ गरेको मधेस प्रदेशले ३८.१ ओभरमा सबै विकेट गुमाउँदै १२४ रन मात्र बनाउन सफल भएको थियो । मधेसको तर्फबाट ओपनर मयन यादवले ३१ रन बनाउँदा मो. आदिल आलमले २३, पवन सराफले १९, अरनिको यादवले ११, हिमांशु दत्तले ८ रन बनाए पनि अन्यको व्याटिङ्ग चलेन ।

बलिङमा लुम्बिनी प्रदेशका सन्देश थापाले ५.१ ओभरमा १३ रन दिएर ३ विकेट लिँदा सन्तोष यादवले ८ ओभरमा ३८ रन दिएर ३ विकेट लिएका थिए । अजय चौहानले २ र निर्मल गुरुङले १ विकेट लिएका थिए । १२५ रनको सामान्य लक्ष्य सहित खेल मैदानमा व्याटिङ्ग गर्न आएका लुम्बिनीले २६ ओभरमा सबै विकेट गुमाउँदै ९९ रन अल आउट भएका थिए । लुम्बिनीको तर्फबाट सुमित श्रेष्ठले सर्वाधिक ३० रन बनाएका थिए भने सन्देश थापाले १६, कप्तान देव खनालले १२, सन्तोष यादवले १२, राजेन्द्र बमले ६ रन बनाएका थिए । लुम्बिनीका ४ खेलाडी शून्य रनमा आउट भएका थिए ।

बलिङमा मधेसका विशाल पटेलले ९ ओभरमा २४ रन दिएर ५ विकेट लिए भने प्रदीप पासवानले २, आशिक बैठा, मो. आदिल आलम र रुपेश सिंहले समान १÷१ विकेट लिएका थिए । मधेसको तर्फबाट ५ विकेट लिएका पटेल म्यान अफ द म्याच घोषित भएका छन् । तीन खेल खेलेको मधेसको पहिलो खेल वर्षाको कारण रद्द भएको थियो भने दुई खेलमा जित निकालेको छ ।

यस्तै, वीरगञ्जमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको कोशीले ४३.४ ओभरमा सबै विकेट गुमाउँदै १३० रन बनाएको थिए । १९.५ ओभरमा ३ विकेट गुमाउँदै सुदूरपश्चिमले लक्ष्य पूरा गरेको छ ।

सुदूरपश्चिमको तर्फबाट खडक बोहोराले ६६ रन बनाउँदा किरण ठगुन्नाले अविजित २५ रन बनाएका थिए । यस्तै, अभिषेक पालले १४, लोकेन्द्र चन्दले ६ तथा प्रकाश पाण्डेले ४ रन बनाएका थिए । कोशीको तर्फबाट विपिन महतोले २ र ज्ञानेन्द्र श्रेष्ठले १ विकेट लिएका थिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको कोशीको तर्फबाट शिव बजगाईँले २५, सुमन श्रेष्ठले २४, दिपेश कँडेलले २०, फिरदोश अन्सारीले १८, शाकिव हकले १५, विपिन महतोले ६, समिर कार्कीले ६ र अंकित सुवेदीले ५ रन बनाएका थिए ।

बलिङमा सुदूरपश्चिमका हेमन्त धामीले ४ विकेट लिँदा किरण ठगुन्नाले २, सूर्या श्रेष्ठले १ र नारायण जोशीले १ विकेट लिएका थिए । ४ विकेट लिएका धामी म्यान अफ द म्याच घोषित भएका थिए । शनिबार र आइतबार मधेस प्रदेशमा प्रधानमन्त्री कपअन्तर्गत कुनै खेल छैन ।

यस पटक जनकपुरधाम, वीरगञ्ज र काठमाडौँमा प्रधानमन्त्री कप भइरहेको छ । हालसम्मको अङ्कतालिकामा मधेश प्रदेश ५ अंक सहित १० टिममा शीर्ष स्थानमा रहेको छ । मधेशको एक खेल वर्षाका कारणले हुन नसकेपछि १ अंक पाएका थिए भने दुई खेलमा बाजी मारेर ४ अंक हाँसिल गरेर कूल ५ अंक सहित शीर्ष स्थानमा रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button