तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपा सभापति लामिछानेद्वारा प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ ।

सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्ण रुपमा निकास भएको भन्दै बधाई ज्ञापन गर्नुभयो।

उहाँले भन्नुभयो, ‘समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ। यो सामान्य कुरा होइन। यो सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद् र सचिवालय टिमलाई बधाई र धन्यवाद दिन चाहन्छु।’

प्रधानमन्त्री कार्कीले रास्वपाले निर्वाचनमा पाएको सफलताका लागि बधाई दिँदै एकताबद्ध भएर देशवासीलाई निराश हुने ठाउँ नराखीकन काम गर्न सुझाव दिनुभयो।

‘अहिले देश रोएको छ। तपाईँ युवाहरुसँग देशवासीले ठूलो अपेक्षा गरेका छन्। तपाईँहरुले देशको मुहारमा मुस्कान ल्याउन सक्नुपर्नेछ। चुनौती धेरै छन् तर सम्हालिएर अघि बढ्नू,’ प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘इमानका साथ काम गरे अपेक्षित नतिजा अवश्य पाइन्छ। विरोध र आलोचना गर्नेहरुलाई कामबाटै जवाफ दिन सक्नुपर्दोरहेछ।’

भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल पनि भएको थियो ।

सभापति लामिछानेले यो सरकारले गरेका निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुनै आपत्ति नरहेको पनि स्पष्ट पार्नुभयो। उहाँले अर्को सरकार नआउँदासम्म गर्न सकिने काम पूर्ण क्षमताका साथ गर्न पनि सुझाव दिनुभयो।

पोर्चुगलमा नेपाली विद्यार्थीले भोगेका समस्या, मध्यपूर्वमा व्याप्त तनावका बीच नेपाली श्रमिकको सुरक्षा र पेट्रोलियम पदार्थको आपूर्तिका विषयमा पनि चासो राख्दै उहाँले यी विषयमा पनि उचित कदम चाल्न आग्रह गर्नुभयो।

तस्बिर: केशव थापा/ प्रधानमन्त्रीको सचिवालय

प्रतिक्रिया राख्नुहोस्

Back to top button