तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा लोपोन्मुख आरन पेशा, परम्परागत व्यवसायबाट गुजारा कठिन

बाजुरा। बाजुरामा परम्परागत रूपमा सञ्चालन हुँदै आएको आरन पेशाबाट जीविकोपार्जन गर्न कठिन हुन थालेपछि यो पेशा लोप हुने अवस्थामा पुगेको छ।

लामो समयदेखि फलामका औजार निर्माण गर्दै आएका व्यवसायीहरूले यही पेशाबाट दैनिकी चलाउन समेत मुस्किल भएको बताएका छन्।

विशेषगरी ल्वार र मिजार समुदायले अंगालेको यो पेशा विगतमा गाउँ–गाउँमा फस्टाएको थियो। एक समय एउटै गाउँमा करिब १० जनासम्म आरन व्यवसायी सक्रिय हुने गरे पनि अहिले १–२ जना मात्र बाँकी रहेको स्थानीयको भनाइ छ।

परम्परागत रूपमा औजार बनाएको बापत अन्न लिने ‘बालिघरे’ प्रथा अझै कायम भए पनि यसबाट परिवार पाल्न र छोराछोरीको शिक्षा–दीक्षा चलाउन नसकिने अवस्था आएको व्यवसायीहरूको गुनासो छ। बडिमालिका नगरपालिका–६ का धौले मिजारका अनुसार यही पेशाबाट गुजारा चलाउन नसक्दा धेरै व्यवसायी भारतलगायतका देशमा रोजगारीका लागि पलायन भएका छन्।

बजारमा आधुनिक औजार सजिलै उपलब्ध हुन थालेपछि आरन व्यवसाय थप संकटमा परेको छ। प्रतिस्पर्धा गर्न नसक्दा पुरानो सीप ओझेलमा पर्दै गएको छ।

आरन पेशाको संरक्षण र प्रवर्द्धनका लागि राज्यबाट ठोस प्रोत्साहन कार्यक्रम नआएको व्यवसायीहरूको गुनासो छ। आवश्यक सहयोग र प्रविधिको अभावमा पुस्तौंदेखि चलिआएको यो पेशा संकटमा पर्दै जाँदा स्थानीय संस्कृति र सीपसमेत हराउने चिन्ता बढेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button