तपाईँ सुन्दै हुनुहुन्छः

हावाहुरीले धनकुटामा २५ लाखभन्दा बढीकाे क्षति

धनकुटा। धनकुटामा हावाहुरीले सरकारी कार्यालय, विद्यालय र निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौँ मूल्य बराबरको नोक्सानी भएको छ ।

प्रहरीका अनुसार सोमबार राति चलेको हावाहुरीले जिल्लाको विभिन्न ठाउँमा मानिसको घर गोठ तथा सार्वजनिक संरचनामा क्षति गर्दा उक्त नोक्सानी हुन पुगेको हो ।

धनकुटाका प्रहरी प्रवक्ता ज्ञानप्रसाद महतोका अनुसार वर्षासँगै आएको हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा क्षति गरेको हो ।

सरकारी कार्यालयहरू आयुर्वेद केन्द्र, सरकारी वकिलको कार्यालय, निजामती र निजी घर गोठ लगायतका संरचनामा हावाहुरीले क्षति पुऱ्याउँदा २५ लाख ५ हजार रुपियाँ बराबरको नोक्सानी भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको महतो जानकारी दिनुभयो ।

उहाँका अनुसार हावाहुरीले आयुर्वेद केन्द्र, सरकारी वकिलको कार्यालयमा १५ लाख ५० हजार क्षति भएको छ । यस्तै निजामती विद्यालयमा ४ लाख र निजी घर तथा गोठमा ५ लाख ५५ हजार रुपियाँ बराबरको क्षति हुन पुगेको प्रहरीले तथ्याङ्क सङ्कलन गरेको छ ।

सदरमुकाममा विद्युत् अवरुद्ध
सोमबार राति आएको शक्तिशाली हावाहुरीपछि अवरुद्ध भएको धनकुटाको विद्युत् आपूर्ति आंशिक रूपमा सुचारु भएको छ। तर, सदरमुकाम क्षेत्र भने विद्युत् सञ्चालन हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरण, धनकुटा वितरण केन्द्रका अनुसार भेडेटार, हिले, पाख्रीबास र मूलघाटलगायतका क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आइसकेको छ। महालक्ष्मी नगरपालिकाको तल्लो भेगमा समेत विद्युत् आपूर्ति सुचारु गरिएको जनाइएको छ।

यद्यपि, हावाहुरीकै कारण छथर जोरपाटी क्षेत्रमा ३३ केभी प्रसारण लाइनको पोल ढल्दा धनकुटा बजारमा विद्युत् सेवा अवरुद्ध भएको हो। धनकुटा नगरपालिकाको निगाले क्षेत्रमा एकै स्थानमा सातवटा पोल भाँचिनुका साथै जडान गरिएको ट्रान्सफर्मरमा समेत क्षति पुगेको छ। क्षतिग्रस्त संरचना मर्मत गर्ने काम भइरहेको र सदरमुकाममा विद्युत् सेवा पुनः सञ्चालन गर्न प्रयास भइरहेको वितरण केन्द्रका प्रमुख विजलीप्रसाद यादवले जानकारी दिनुभयो। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button